मकवानपुर। मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ सिस्नेरी, अदुवासका दम्पतीलाई छोरोको हत्या अभियानमा प्रहरीले पक्रेको छ। प्रहरीले ६४ वर्षीय मीनबहादुर ब्लोन र उनकी पत्नी ६३ वर्षीया देवीमायालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याइएको बताइएको छ ।
प्रहरी हिरासतमा राखेर ब्लोन दम्पतीमाथि अनुसन्धान थालिने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।
उनीहरुमाथि आफ्नै ३१ वर्षीय छोरा भरतकुमार ब्लोनलाई कुटपिट गरी हत्या गरेको आरोप लागेको हो । पारिवारिक विवादमा कुटाकुट हुँदा तीनै जना घाइते भएका थिए । जसमध्ये भरतकुमारको अवस्था गम्भीर थियो । उनको उपचारका क्रममा गत शनिबार भरतपुर अस्पतालमा मृत्यु भएको थियो ।
ब्लोन दम्पतीलाई उपचारका लागि भक्तपुर अस्पताल लगिएको थियो । भक्तपुर प्रहरीको निगरानीमा उपचार गराएका उनीहरुलाई बुधबार मकवानपुर ल्याइएको प्रहरी प्रवक्ता अर्यालले जानकारी दिए ।
प्रहरीका अनुसार छोरा र बाबुआमाबीच सम्पत्ति भागबण्डाका विषयमा प्रायः घरझगडा पर्ने गरेको थियो । झगडा भएको थाहा पाएपछि छिमेकीहरुले इलाका प्रहरी कार्यालय, सिस्नेरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा भरतकुमार अचेत अवस्थामा थिए भने ब्लोन दम्पती घाइते अवस्थामा भेटिएपछि प्रहरीकै गाडीमा राखेर उनीहरुलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएको थियो ।













