कैलाश \ मकवानपुरको कैलाश गाउँपालिकाले आर्थिक वर्ष २०८३\०८४ देखि गाउँपालिकामै करदाता सेवा विस्तार गरेको छ । गाउँपालिकाबाटै करसम्बन्धी सेवा उपलब्ध हुन थालेपछि स्थानीय करदातालाई सेवा लिन हेटौंडा तथा अन्य कार्यालय धाउनुपर्ने बाध्यता कम हुने भएको छ ।

गाउँपालिकामा करदाता सेवा विस्तार भएसँगै व्यवसाय तथा आयकरसम्बन्धी आवश्यक सेवा, करसम्बन्धी जानकारी तथा प्रक्रियागत सहजीकरण स्थानीयस्तरमै उपलब्ध हुने गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताए । यसबाट गाउँपालिकाभित्र रहेका व्यवसायी, उद्यमी तथा अन्य करदातालाई समय र खर्चको बचत हुनुका साथै कर प्रशासन थप सहज र प्रभावकारी बन्ने विश्वास गरिएको उनले बताए ।

भौगोलिक रूपमा विकट मानिने कैलाश गाउँपालिकाका नागरिकले सामान्य करसम्बन्धी कामका लागि समेत लामो दूरी तय गर्नुपर्ने बाध्यात्मक अवस्था रहेकोमा गाउँपालिकामै सेवा विस्तार भएपछि स्थानीयवासीलाई प्रत्यक्ष राहत पुग्ने अध्यक्ष मुक्तानले बताए ।

गाउँपालिकाले करदाता सेवा विस्तारलाई स्थानीयस्तरमै सेवा प्रवाहलाई प्रभावकारी बनाउने तथा नागरिकलाई सहज, सरल र छिटो सेवा उपलब्ध गराउने महत्वपूर्ण कदमका रूपमा लिएको प्रमुख प्रशासकीय अधिकृत सीताकुमारी खत्रीले बताईन् । करको दायरालाई व्यवस्थित गर्दै स्थानीय राजस्व संकलन वृद्धि गर्ने र करदातामैत्री वातावरण निर्माण गर्ने दिशामा समेत यसले सहयोग पुग्ने उनको भनाइ रहेको छ ।

कार्यपालिकाको निर्णय पश्चात चालु आवबाट व्यक्तिगत प्यान, समूह, फार्म, तथा अन्य खालका प्यानको सेवा दिइने करदाता सेवा प्रमुख नरेन्द्र दत्त भट्टले बताए । उनका अनुसार तीस लाख सम्म कारोबार भएकाको करचुक्ताहरु समेतका सेवा सुरु गरिएको उनले बताए । भौगोलिक विकटता रहेको गाउँपालिकाले नागरिकको सेवा सुविधामा सहजता पुग्ने हिसाबले सेवा सुरु गरिएको भट्टले बताए ।

कैलाश ७ का सफलता कृषि तथा पशुपञ्छी पालन र्फमका सञ्चालक सजिता प्रजाले गाउँपालिकाबाटै प्यान र करचुक्ताको सेवा पाइएकोमा खुसी व्यक्त गरिन् । गाउँपालिकामा करदाता सेवा विस्तार भएकाले अब हेटौंडा सम्म आवतजावत गर्नुपर्ने बाध्यता हटेको उनले बताईन् । उनले गाउँपालिकाबाटै अन्य स्थानीय व्यवसायी तथा नागरिकले करसम्बन्धी सेवा लिन समेत आग्रह गरिन् ।