हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव चौथो दिनमा फेला परेको छ। सुमित्राको शव भेटिएसँगै बासुदेव खोलाले बगाएका विद्यार्थीमध्ये मृत्यु हुनेको संख्या तीन पुगेको छ।
गत मंगलबार विद्यालयबाट घर फर्कने क्रममा बासुदेव खोलाले चार विद्यार्थीलाई बगाएको थियो। तीमध्ये राक्सिराङ–१ की रेशमा स्याङतानको शव घटनाकै क्रममा फेला परेको थियो भने बिनिता बोलनको शव बुधबार बासुदेव र राप्ती खोलाको दोभानमा भेटिएको थियो।
घटनामा सिमा बोलनलाई भने घाइते अवस्थामा उद्धार गरिएको थियो। उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
बेपत्ता सुमित्राको खोजीमा नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयवासी परिचालन भएका थिए। बिहीबार बिहान इलाका प्रहरी कार्यालय नेवारपानीबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले खोजी गर्ने क्रममा घटनास्थलबाट करिब ५ किलोमिटर तल मनहरी गाउँपालिका–३ लामिटारस्थित राप्ती खोलामा सुमित्राको शव फेला पारेका हुन्।
प्रहरीका अनुसार खोलाको कास र बालुवामा अल्झिएको अवस्थामा सुमित्राको शव भेटिएको हो। घटनाबारे आवश्यक कानुनी प्रक्रिया पूरा गर्न जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी निरीक्षक राजेशकुमार बर्तौलाको कमान्डमा SOCO सहितको टोली घटनास्थलमा खटिएको छ।












