हेटौंडा । मकवानपुरगढी गाउँपालिका–१ लेनडाँडाको घुम्तीमा ट्रक दुर्घटना भएको छ। कान्ति लोकपथअन्तर्गत लेनडाँडाको घुम्ती सडकमा बिहीबार बिहान ट्रक दुर्घटनामा परेको हो।

रौतहटको चन्द्रपुरबाट फास्ट ट्र्याकको महादेवटारतर्फ ह्युमपाइप बोकेर जाँदै गरेको ना.१ क ८५३६ नम्बरको ट्रक बिहान करिब ७ बजे ब्रेक फेल भएपछि सडकबाट करिब १०० मिटर तल भिरमा खसेको प्रहरीले जनाएको छ।

दुर्घटनाका क्रममा ट्रक चालक रौतहटको चन्द्रपुर नगरपालिका–६ का ३६ वर्षीय धनबहादुर विकले ट्रकबाट हामफालेर ज्यान जोगाएका छन्। उनी सकुशल रहेको प्रहरीले जनाएको छ।

ट्रकमा चालक मात्र सवार रहेकाले अन्य मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।