हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा मानव अधिकारका लागि महिला एकल महिला समूहले निर्माण गरेको छाहारी भवनको उद्घाटन गरिएको छ। भवनको हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाले रिबन काटेर उद्घाटन गर्नुभएको हो।

कार्यक्रम हलसहित दुई कोठे भवन निर्माण गरिएको समूहकी अध्यक्ष शारदा चौलागाईंले जानकारी दिनुभयो। उहाँका अनुसार भवन निर्माणका लागि बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयबाट १६ लाख रुपैयाँ र हेटौंडा उपमहानगरपालिकाबाट ३० लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो। भवन निर्माणको काम आर्थिक वर्ष २०७९ बाट सुरु गरिएको थियो।

उद्घाटन कार्यक्रममा मेयर लामाले एकल महिलाको छाहारीका रूपमा भवन निर्माण हुनु महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। संघर्ष गरिरहेका एकल महिलालाई हौसला र सहयोग आवश्यक रहेको भन्दै उहाँले आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। थोरै रकम खर्च गर्दा पनि एकल महिलाको जीवनमा ठूलो खुसी ल्याउन सकिने उहाँको भनाइ थियो।भवनको केही काम अझै बाँकी रहेकाले त्यसका लागि थप बजेटसमेत विनियोजन गरिएको बताउनुभयो।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, हेटौंडा–११ का वडाध्यक्ष जुना दाहाल, हेटौंडा–५ की वडा सदस्य रञ्जिता सिलवाल, माइती नेपाल मकवानपुरकी संयोजक माया लामा, माइती नेपालकी मन लामा, हिमराइट्सकी कुमारी वाइबा, सल्लाहकार नीलम देवकोटा, प्रदेश अधिकृत अप्सरा अर्याललगायत कार्यसमितिका पदाधिकारी तथा एकल महिलाहरूको उपस्थिति थियो।