हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी बिनिता बोलनको शव बुधबार फेला परेको छ। शव भेटिएसँगै घटनामा मृत्यु हुने विद्यार्थीको संख्या दुई पुगेको छ।
बिनिताको शव घटनास्थलबाट करिब तीन किलोमिटर तल बासुदेव र राप्ती खोलाको दोभानमा फेला परेको स्थानीय रबिन ढकालले जानकारी दिए।
मंगलबार विद्यालयबाट घर फर्किने क्रममा बासुदेव खोलाले चार विद्यार्थीलाई बगाएको थियो। तीमध्ये राक्सिराङ–१ की रेशमा स्याङतान (कक्षा २) को शव मंगलबार नै फेला परेको थियो।
सिमा बोलन (कक्षा ६) लाई भने घाइते अवस्थामा उद्धार गरिएको थियो। उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
घटनामा अर्की विद्यार्थी सुमित्रा बोलन (कक्षा ५) अझै बेपत्ता छिन्। उनको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयवासी परिचालन भएका छन्। खोजी टोलीले बासुदेव खोलासँगै राप्ती खोलाको क्षेत्रमा समेत खोजीलाई तीव्र बनाएको छ।











