हेटौंडा/हेटौंडा १९ स्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएका दुई बालिकाको खोजी कार्य बुधबार बिहानैदेखि तीव्र पारिएको छ।
मंगलबार विद्यालयबाट घर फर्किने क्रममा खोलाले चार विद्यार्थीलाई बगाएको थियो। घटनामा राक्सिराङ–१ की कक्षा २ मा अध्ययनरत रेशमा स्याङतान मृत अवस्थामा फेला परेकी छन् भने कक्षा ६ की सिमा बोलनलाई घाइते अवस्थामा उद्धार गरिएको थियो। उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ।
घटनापछि कक्षा ५ मा अध्ययनरत सुमित्रा बोलन र कक्षा ७ की बिनता बोलन भने अझै सम्पर्कविहीन छन्। उनीहरूको खोजीका लागि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी तथा स्थानीयवासी परिचालन गरिएको छ।
बासुदेव खोलाको विभिन्न क्षेत्रमा खोजी गर्दा उनीहरू फेला नपरेपछि करिब तीन किलोमिटर तल रहेको राप्ती खोलाको क्षेत्रमा समेत खोजी अभियान विस्तार गरिएको छ।
विद्यालयका प्रधानाध्यापक प्रबोध विडारीका अनुसार मंगलबार साँझ अँध्यारो भएपछि खोजी कार्य रोकिएको थियो। बुधबार बिहान ६ बजेदेखि सुरक्षाकर्मी र स्थानीयवासीको टोलीले पुनः खोजी सुरु गरेको हो।











