हेटौंडा/हेटौंडा उपमहानगरपालिका–१९ स्थित बासुदेव खोलाले बगाएका चार विद्यार्थीको पहिचान खुलेको छ। खोलाले बगाएका मध्ये एक विद्यार्थीको मृत्यु भएको छ भने एक जनाको घाइते अवस्थामा उद्धार गरिएको छ। दुई जना अझै बेपत्ता छन्।
मृत्यु हुनेमा राक्सिराङ गाउँपालिका–१ की रेशमा स्याङतान रहेकी छन्। कक्षा २ मा अध्ययनरत उनको शव फेला परेको हो। यस्तै, कक्षा ६ मा अध्ययनरत सिमा बोलनलाई घाइते अवस्थामा उद्धार गरिएको छ।
कक्षा ५ मा अध्ययनरत सुमित्रा बोलन र कक्षा ७ मा अध्ययनरत बिनता बोलन भने अझै बेपत्ता छन्। उनीहरूको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
विद्यालयबाट घर फर्किने क्रममा उनीहरूलाई बासुदेव खोलाले बगाएको हो। घटनापछि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली परिचालन गरी बेपत्ता विद्यार्थीको खोजी तथा उद्धार कार्य भइरहेको छ।











