भरतपुर÷चितवन राष्ट्रिय निकुञ्जले आइतबार नियन्त्रणमा लिएको बाघलाई पर्सा राष्ट्रिय निकुञ्ज पठाएको छ । चितवनमा खोरको अभावका कारण पर्सा राष्ट्रिय निकुञ्ज पठाइएको चितवन राष्ट्रिय निकुञ्ज वरिष्ठ संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए । शुक्रबार राप्ती नगरपालिका–१ मा देखिएको चार वर्षको भाले बाघलाई आइतबार विहान डार्ट गरेर नियन्त्रणमा लिइएको थियो । चितवन राष्ट्रिय निकुञ्जस“ग समस्याग्रस्त सात वटा बाघ छन् । ती बाघ खोरमा थुनिएका छन् ।
निकुञ्जमा समस्याग्रस्त बाघलाई राख्नका लागि खोरको अभावले पर्सा पठाउनु परेको हो । हाल निकुञ्जको मुख्यालय कसरामा तीन वटा, देवनगरमा दुई वटा र सौराहामा दुई वटा बाघ छन् । निकुञ्जका खोरमा रहेका बाघमा पा“च वटा भाले र दुई वटा पोथी छन् । निकुञ्जमा खोरको अभावले समस्याग्रस्त बाघ व्यवस्थापनमा चुनौती थपिएको छ । चितवन निकुञ्जको खोरमा रहेका बाघमध्ये एउटा बा“केबाट ल्याइएको हो भने अन्य चितवन राष्ट्रिय निकुञ्ज र आसपास मध्यवर्ती क्षेत्रबाट समस्याग्रस्त भएपछि नियन्त्रणमा लिइएको हो । चितवनमा जुनसुकै बेला बस्ती पसेका थप बाघ नियन्त्रणमा लिएर खोरमा राख्नुपर्ने अवस्था आएमा ठाउ“को अभाव रहेको वरिष्ठ अधिकृत पुनले बताए ।











