हेटौंडा । नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलियालाई निरन्तरता दिइने भएको छ भने मुख्यमन्त्रीमा पार्टी अध्यक्ष केपी शर्माओली र एमाले सचिव तथा बागमती प्रदेश इञ्चार्ज महेश बस्नेतका विश्वासपात्र मानिएका प्रदेशका पूर्वस्वास्थ्य मन्त्री किरण थापामगरलाई अघि सार्ने सहमति भएको छ ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा एमालेबीच गठबन्धनमा नयाँ सरकार गठन गर्न बागमतीको मुख्यमन्त्री एमालेले पाउने सहमति भइसकेको अवस्थामा उक्त निर्णय गरिएको हो ।
मंगलबार हेटौंडामा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले थपलियालाई दलको नेताबाट नहटाउने र थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सहमति गरेको हो । एमाले अध्यक्ष केपी ओलीकै निर्देशनपछि दलको नेता परिवर्तनको प्रक्रिया अघि बढेको बताइएको छ । दलको नेता परिवर्तनको विषयलाई लिएर एमालेभित्र दुई धार देखिए पनि बैठकअघि भएको छलफलले सहमतिको बाटो खोलेको हो । एमाले केन्द्रीय सचिव तथा बागमती प्रदेश इञ्चार्ज बस्नेतसहितको पहलमा भएको आन्तरिक छलफलमा थपलियालाई संसदीय दलको नेतामा कायम राख्ने सहमति जुटेको हो ।
बैठकले एमालेको पक्षमा सहमति निर्माण गर्न अन्य पार्टीसँग समन्वयका लागि थापा, केशब पोखरेल, भारती पाठक, दिनेशचन्द्र देबकोटा र भरत केसीलाई जिम्मेवारी दिने निर्णय गरेको छ । दलको नेता चयनको टुंगो लागेपछि बागमती प्रदेशमा एमाले–नेकपाको संयुक्त सरकार गठनका लागि मुख्यमन्त्री दाबी गर्ने प्रक्रिया अघि बढाइने तयारी छ ।
एमाले सचिव तथा बागमती प्रदेश इञ्चार्ज बस्नेतको उपस्थितिमा भएको बैठकमा बागमती अध्यक्ष कैलाश ढुंगेल र प्रदेश उपाध्यक्ष दावा दोर्जेलामालगायत नेताहरु सहभागी रहनुभयो । यसअघि साउन २७ गते थपलियाविरुद्ध एमालेका १६ जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गर्दै थापालाई संसदीय दलको नेता बनाउन माग गरेका थिए । तर, पार्टी नेतृत्वको पहलमा थपलियालाई दलको नेता कायम राख्दै थापालाई मुख्यमन्त्रीका रुपमा अघि बढाउने सहमति जुटाइएको हो ।
एमाले बागमती प्रदेश संसदीय दलको बैठक बस्नुअघि दलको नेता परिवर्तनको विषयलाई लिएर पार्टीभित्र दुई धार स्पष्ट देखिएको थियो । संसदीय दलका नेता थपलियाविरुद्ध अविश्वास प्रस्ताव दर्ता भएपछि नेता परिवर्तनको पक्ष र विपक्षमा रहेका सांसदहरु छुट्टाछुट्टै छलफलमा जुटेका थिए । दलका नेता थपलिया, पूर्वस्वास्थ्य मन्त्री थापा तथा नेता परिवर्तनको पक्षमा हस्ताक्षर नगरेका सांसदहरु आन्तरिक छलफलमा रहे भने अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरु बैठकस्थल बाहिर प्रतीक्षारत देखिन्थे ।
दलको नेता परिवर्तनको पक्षमा हस्ताक्षर नगर्नुभएका सांसदहरुमा थपलिया, एकालाल श्रेष्ठ, बालकुमारी बिश्वकर्मा, सुकुमाया तामाङ, केशब पोखरेल, मधुसूदन पौडेल, उर्मिला सुनुवार, ठूला थामी र उपसभामुख अप्सरा चापागाईं हुनुहुन्छ । अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुमा थापा, कृष्णप्रसाद सिलवाल, रामेश्वर श्रेष्ठ, हरि सापकोटा, भारती पाठक, प्रेमभक्त महर्जन, शकुन्तला श्रेष्ठ, विन्दु श्रेष्ठ, माया कार्की, आनन्द श्रेष्ठ, भरतबहादुर केसी, रघुनाथ महर्जन, डा. दिनेशचन्द्र देबकोटा, जयराम थापा, माइली तामाङ र ज्ञानबहादुर तामाङ हुनुहुन्छ ।
प्रदेश प्रमुख दीपकप्रसाद देबकोटाले संविधानको धारा १६८ को उपधारा (२) अनुसार बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरिसक्नुभएको छ । बिहीबार अपराह्न ४ बजेसम्म दाबी पेश गर्ने समय तोकिएको छ ।
मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनका लागि एमाले–नेकपा गठबन्धन तातिएका छन् । एमालेभित्रको विवाद टुंगिएसँगै अब एमालेले बहुमतका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल मजदुर किसान पार्टी (नेमकिपा) सँग छलफल गर्ने नेता थापाले बताउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र नेकपा एमालेबीच गठबन्धनमा नयाँ सरकार गठन गर्ने सहमति भए पनि बागमतीको सत्तासमीकरण सहज छैन । १ सय ४ सदस्यीय प्रदेशसभामा सरकार गठनका लागि ५३ सांसदको समर्थन आवश्यक पर्छ । एमालेका २५ र नेकपाका २६ गरी २ दलसँग ५१ सांसद छन् । त्यसैले सरकार गठनका लागि अन्य दलको समर्थन अनिवार्य देखिन्छ ।











