हेटौंडा । छिमेकी मूलूक भारतको पश्चिम वंगाल प्रदेशको कालिम्पोङ जिल्लास्थित मुनसोङमा जारी ८० औं इन्पिेडेन्स डे को अवसरमा जारी फुटबल प्रतियोगिता अन्तर्गत सेमीफाइनल चरणको खेलबाट लगातार २ पटक उपाधि जितेको साविक विजेता हेटौंडा फुटबल एकेडेमी बाहिरिएको छ । मुनसोङ स्र्पोर्टिङ क्लबको आयोजनामा सञ्चालित प्रतियोगिता अन्तर्गत मंगलबार भएको सेमीफाइनल चरणको खेलबाट लाङजिङ ब्वाइजसँग ६–१ गोलको भारी गोलान्तरले पराजित हुँदै हेटौंडा फुटबल एकेडेमीको टोलीले लज्जास्पद हार व्यर्होरेको छ । पहिलो हाफको खेलसम्म लाङजिङ ब्वाइज साविक विजेता हेटौंडा फुटबल एकेडेमीमाथि हावी हुँदै २–० गोलले अग्रता बनाएको थियो ।

त्यसपछि दोस्रो हाफको खेलमा लाङजिङ ब्वाइजले हेटौंडा फुटबल एकेडेमीमाथि ४ गोल थप गरेको हो । हेटौंडा फुटबल एकेडेमीको तर्फबाट एक सान्त्वना गोल मात्र फर्काएको कारणले हार व्यर्होर्नुपरेको हो । यस अघि लगातार ३ वटा खेलमा भारी गोलान्तरको फराकिलो अन्तरले जीत निकालेको हेटौंडा फुटबल एकेडेमी अन्नतःसेमीफाइनलमा आएर भारी गोलान्तरले लज्जास्दप हार व्यर्होर्नुपरेको हो । दोस्रो र तेस्रो वर्ष लगातार उपाधि उचालेको हेटौंडा फुटबल एकेडेमीको मुनसोङ फुटबल यात्रा सेमीफाइनलमा समाप्त हुँदै उपाधि उचाल्ने सपना पुरा हुन सकेन ।

पहिलो खेलमा हेटौंडा फुटबल एकेडेमीले माम्रिङ ब्वाइज विरुद्ध ८–१ गोल अन्तरले जीत निकालेको थियो भने दोस्रो खेलमा हाइल्याण्डर वारियर विरुद्ध १३–२ गोलको भारी अन्तरले जीत निकाल्दै क्वार्टरफाइनलमा प्रवेश गरेको थियो । तेस्रो खेलमा हेटौंडा फुटबल एकेडेमीले फारम ब्वाइजलाई ८–१ गोलले हराउँदै सेमीफाइनलको यात्रा पुरा गरेको थियो ।

क्लबले यस वर्षबाट प्रतियोगिताको पुरस्कार राशिको रकम बढाएको हो । सिक्मिको ३ वटा फरक फरक फुटबल प्रतियोगिताहरुमा सहभागी भएको हेटौंडा फुटबल एकेडेमीको टोली ३ वटै प्रतियोगिताबाट बाहिरिएर ह्याट्रिक पूरा गरेको छ । मुनसोङ स्पोर्टस् क्लबको आयोजनामा जुलाई २६ तारिखबाट सुरु भएको फुटबल प्रतियोगिताको फाइनल खेल भने अगष्ट १५ अर्थात इन्डिपेन्डेनस डे को दिन हुनेछ ।

विगत ३ वर्ष देखि भारतको सिक्किमसहित पश्चिम वंगाल प्रदेशको कालिम्पोङ जिल्लाको मुनसोङमा सञ्चालित प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमीले सहभागिता जनाउँदै आएको छ । हेटौंडा फुटबल एकेडेमीको टोलीले ३ वर्षको अवधिमा मुनसोङको फुटबल प्रतियोगितामा पहिलो वर्ष उपविजेता बनेको छ भने दोस्रो र तेस्रो वर्ष लगातार उपाधि उचालेको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ ।