हेटौंडा । हेटौंडा उपमहानगरपालिका–११ सिमलटारका हाइटेन्सन प्रसारण लाइन प्रभावित स्थानीयले आफूहरूलाई उचित क्षतिपूर्ति नदिइएको भन्दै असन्तुष्टि जनाएका छन्।
४०० केभी प्रसारण लाइन विस्तारका क्रममा जग्गा, घर, टहरा, पर्खाल, गोठ, फलफूलका बोटबिरुवा तथा लगाइएका बालीमा क्षति पुगे पनि आफूहरूले अपेक्षाअनुसारको रकम नपाएको प्रभावितहरूको गुनासो छ।
प्रभावितका अनुसार परियोजनाले अतिप्रभावित, प्रभावित र न्यून प्रभावितका रूपमा वर्गीकरण गरी सबैलाई उचित व्यवस्थापन गर्ने आश्वासन दिएको थियो। त्यस क्रममा पटक–पटक कागजमा सहीछाप गराइएको र MCA-Nepal ले तोकेको बैंकमा खाता खोल्न लगाइएको उनीहरूको भनाइ छ।
घर तथा संरचनाको क्षतिपूर्ति स्क्वायर फिटका आधारमा गरिने बताइए पनि व्यवहारमा त्यसअनुसार रकम नदिइएको उनीहरूको आरोप छ। घरजग्गा नापजाँच गर्न आउने क्रममा प्रभावितलाई आश्वस्त पार्न मात्र स्क्वायर फिटका आधारमा रकम दिने कुरा गरिएको तर कागजी तथा व्यवहारिक रूपमा त्यसको कार्यान्वयन नभएको उनीहरूको भनाइ छ।
यस विषयमा MCA-Nepal को हेटौंडा कार्यालयमा निवेदनसमेत दिएको प्रभावितहरूले बताएका छन्। तर सम्बन्धित अधिकारीबाट चित्तबुझ्दो जवाफ नपाएको र उल्टै हप्कीदप्की तथा रुखो व्यवहार सहनुपरेको उनीहरूको गुनासो छ।
‘हामीले क्षतिको उचित मूल्यांकन र पारदर्शी रूपमा क्षतिपूर्ति मागेका हौँ। कसैलाई काखा र कसैलाई पाखा गर्ने काम हुनुहुँदैन,’ एक प्रभावितले भनिन्।
नेपाल विद्युत प्राधिकरणअन्तर्गतको हाइटेन्सन हेटौंडा सबस्टेशनमार्फत ४००/२२०/१३२/११ केभी क्षमताको प्रसारण लाइन सञ्चालन गर्ने योजना रहेको छ। उक्त आयोजनाका लागि विभिन्न स्थानमा प्रसारण टावर निर्माण भइरहेका छन् भने कतिपय टावर निर्माण सम्पन्न भइसकेका छन्।
प्रसारण लाइन विस्तारका क्रममा प्रभावित स्थानीयले उठाएको क्षतिपूर्ति रकमको आधार, प्रभावितको वर्गीकरण, मूल्यांकन प्रक्रिया र ‘राहत’ शीर्षकमा रकम वितरण गर्नुको कारणबारे सम्बन्धित निकायले स्पष्ट पार्नुपर्ने माग गरेका छन्।











