हेटौँडा/दुई दशकभन्दा लामो समयदेखि बन्द रहेको हेटौँडा कपडा उद्योगमा २६ वर्षपछि फेरि कपडा बुन्ने तान सञ्चालनमा आएका छन्। नेपाली सेनाको नेतृत्वमा उद्योगका पुराना मेसिन तथा तान मर्मतसम्भार गरेपछि शनिबारदेखि परीक्षण उत्पादन सुरु गरिएको हो।

लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेका मेसिन सञ्चालनमा आएपछि उद्योग परिसरमा पुनः तानको आवाज गुञ्जिएको छ। परीक्षणका क्रममा केही परिमाणमा कपडा उत्पादनसमेत सुरु भएको जनाइएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहका निजी सचिव प्रदीप परियारले सामाजिक सञ्जालमार्फत उद्योगमा तान सञ्चालनमा आएको जानकारी दिँदै परीक्षण उत्पादनको भिडियो सार्वजनिक गर्नुभएको छ।

उद्योग पुनः सञ्चालनको जिम्मेवारी सरकारले नेपाली सेनालाई दिएको छ। सेनाको नेतृत्वमा परीक्षण उत्पादनको चरण पूरा गरी त्यसको नतिजाका आधारमा उद्योगलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउने सरकारको तयारी छ।

लामो समय बन्द रहँदा उद्योगका मेसिन, विद्युत् प्रणाली तथा भौतिक संरचना जीर्ण बनेका थिए। पछिल्लो समय उद्योग परिसरको सरसफाइ, विद्युत् प्रणालीको मर्मत तथा पुराना मेसिनको परीक्षण र मर्मतलाई प्राथमिकता दिइएको थियो।

उद्योग पुनः सञ्चालनका लागि गठित अध्ययन कार्यदलले पनि परीक्षण उत्पादनबाट प्राप्त नतिजाका आधारमा उद्योगलाई पूर्ण क्षमतामा सञ्चालन गर्न सुझाव दिएको थियो। सरकारले गत असार १८ गते हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेपछि तयारीलाई तीव्रता दिइएको हो।

चिनियाँ सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा २०३२ सालमा स्थापना भएको उद्योगले २०३५ सालदेखि व्यावसायिक उत्पादन थालेको थियो। विभिन्न कारणले सञ्चालनमा निरन्तरता आउन नसकेपछि उद्योग २०५७ सालदेखि पूर्ण रूपमा बन्द अवस्थामा छ।

उद्योग पुनः सञ्चालनका लागि यसअघि पनि पटकपटक प्रयास भएका थिए। २०७३ सालमा विस्तृत अध्ययन गर्न समिति गठन गरिएको थियो भने २०७५ सालमा तयार गरिएको अध्ययन प्रतिवेदनले उद्योग सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको थियो। सो अध्ययनले उद्योग सञ्चालनका लागि करिब ३० करोड रुपैयाँ आवश्यक पर्ने उल्लेख गरेको थियो।

२०७५ सालमै नेपाली सेनाको सहभागितामा उद्योग सञ्चालनको सम्भाव्यता अध्ययन गरिएको थियो। आर्थिक वर्ष २०८१/८२ को बजेटमा समेत उद्योगलाई सार्वजनिक–निजी साझेदारीको मोडालिटीमा सञ्चालनमा ल्याउने घोषणा गरिएको थियो।

यसपटक भने नेपाली सेनालाई परीक्षण उत्पादनको जिम्मेवारी दिएर सरकारले बन्द उद्योगलाई पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाएको हो। २६ वर्षपछि तान चलेसँगै हेटौँडा कपडा उद्योगको भविष्यबारे पुनः आशा जागेको छ।