हेटौंडा/मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५, सेल्फी रोडस्थित सामुदायिक वनमा एक महिलाको शव रहस्यमय अवस्थामा फेला परेको छ।

करिब ३०–३२ वर्षीया देखिने महिलाको शव बोरामा बाँधेर खाल्डोमा फालेको अवस्थामा शुक्रबार फेला परेको हो। स्थानीयवासी च्याउ टिप्न जंगलतर्फ जाने क्रममा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएलगत्तै प्रहरी घटनास्थलमा पुगेको थियो। घटनाको अनुसन्धानका लागि प्रहरीसँगै तालिमप्राप्त डग र (Scientific Investigation and Crime Investigation) टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।

शव घटनास्थलबाट निकालेर हेटौंडा अस्पतालमा ल्याइएको छ। मृतक महिलाको पहिचान खुल्न सकेको छैन।

घटनाको प्रकृति तथा महिलाको मृत्युको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ। पहिचान खुलेपछि घटनाबारे थप विवरण सार्वजनिक गरिने प्रहरीको भनाइ छ।