हेटौंडा । पर्यटन वर्ष २०८३ लाई सफल बनाउने लक्ष्यसहित हेटौंडा उपमहानगरपालिकाले ‘शून्य फोहोर (जिरो वेस्ट)’ महाअभियान सुरु गर्ने घोषणा गरेको छ। ‘जाऔँ हेटौंडा, रमाऔँ हेटौंडा’ नारालाई व्यवहारमा उतार्दै नगरलाई सफा, व्यवस्थित र पर्यटकमैत्री बनाउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको हो।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा उपमहानगरपालिकाले १९औँ नगरसभाबाट पारित पर्यटन प्रवर्द्धन योजनाअन्तर्गत टोल विकास संस्था नगर समन्वय समितिको सहकार्यमा अभियान अघि बढाइने जनाएको छ।
नगर प्रमुख मीनाकुमारी लामाले सरसफाइलाई एकदिने कार्यक्रम नभई नागरिकको दैनिक जीवनशैलीसँग जोडिएको संस्कारका रूपमा विकास गर्नुपर्ने बताउँदै अभियान वर्षभरि सञ्चालन हुने जानकारी दिनुभयो। उहाँले ढल व्यवस्थापन आयोजना, फोहोरबाट निस्कने पानी प्रशोधन प्रणाली तथा नयाँ ल्यान्डफिल्ड साइट निर्माणको प्रक्रिया पनि अगाडि बढिरहेको बताउनुभयो।
उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर–१ का अध्यक्ष सविन न्यौपानेका अनुसार अब घर, विद्यालय, कार्यालय र सार्वजनिक स्थलबाट निस्कने फोहोरलाई स्रोतमै कुहिने र नकुहिने गरी छुट्याउने व्यवस्था अनिवार्य गरिनेछ। साथै ४० माइक्रोनभन्दा पातला प्लास्टिकका झोलामाथि कडाइका साथ प्रतिबन्ध लागू गरिने भएको छ।
अभियानलाई प्रभावकारी बनाउन विद्यालयमा ‘मेरो फोहोर, मेरो दायित्व’ कार्यक्रम सञ्चालन गरिने, व्यवसायिक प्रतिष्ठान तथा सार्वजनिक यातायातमा डस्टबिन राख्नुपर्ने व्यवस्था लागू गरिनेछ। उत्कृष्ट सरसफाइ गर्ने टोल र वडालाई सम्मानसमेत गरिने उपमहानगरपालिकाले जनाएको छ।
पत्रकार सम्मेलनमा उपप्रमुख राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत टेकप्रसाद ओली, वडा नम्बर–१० का अध्यक्ष फुर्वा दोर्जे लामा तथा टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुव अधिकारीलगायतको उपस्थिति थियो। उपमहानगरपालिकाले महाअभियान सञ्चालनका लागि ३२ लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको जनाएको छ।











