हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकामा मनहरी खोलाले बगाउँदा एक युवक बेपत्ता भएका छन् भने अर्का एक जना सकुशल जोगिएका छन्।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बेपत्ता हुनेमा कैलाश गाउँपालिका–४ सिसैटाका ३२ वर्षीय अशोक प्रजा रहेका छन्। उनीसँगै रहेका २५ वर्षीय प्रकाश तामाङ भने पौडिएर सुरक्षित रूपमा खोलाबाट बाहिरिन सफल भएका छन्।

प्रहरीका अनुसार बुधबार राति करिब ११ बजे कालिकाटारबाट देउतीतर्फ घर फर्किने क्रममा मनहरी खोला तर्ने प्रयास गर्दा दुवै जनालाई खोलाले बगाएको थियो। घटनाको जानकारी बुधबार बिहान मात्र प्रहरी चौकी भार्तामा पुगेपछि प्रहरी चौकी चैनपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको टोलीले स्थानीयवासीको सहयोगमा बेपत्ता प्रजाको खोजीलाई तीव्र बनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। साथै मनसुनका कारण खोलानालामा पानीको बहाव बढेकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।