हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ हुप्राचौरस्थित खेलकुद विकास परिषद् कार्यालय परिसरमा सहकर्मीबीच भएको विवाद कुटपिटमा परिणत हुँदा एक जना घाइते भएका छन्।
मंगलबार राति करिब २:३० बजे भएको घटनामा परिषद्मा सवारी चालकका रूपमा कार्यरत नुवाकोटको बेलकोटगढी नगरपालिका–७ निवासी ३७ वर्षीय रामेश्वर गोदामेमाथि सोही कार्यालयमा करारका ओभरसियर रहेका कैलाश गाउँपालिका–९ निवासी ३३ वर्षीय बिनोद प्रजाले हेल्मेटले प्रहार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
प्रहरीका अनुसार हेल्मेट प्रहारबाट गोदामेको टाउको, कम्मर र बायाँ खुट्टामा चोट लागेको छ। उनको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने स्वास्थ्य अवस्था मध्यम रहेको बताइएको छ।
घटनामा संलग्न बिनोद प्रजालाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा राखेर थप अनुसन्धान गरिरहेको छ।
प्रहरीले घटनास्थलबाट दुवैले प्रयोग गरेका बा.प्र.०३–००१ ब ३४९ र बा.प्र.०३–००१ ब २९० नम्बरका मोटरसाइकल समेत नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय हेटौंडामा राखेको जनाएको छ।











