हेटौंडा/ छिमेकी मूलूक भारतको पश्चिम वंगाल प्रदेशको कलिम्पोङ जिल्लास्थित मुनसोङमा ८० औं इन्डिपेन्डेन्स डे अर्थात स्वतन्त्र दिवसको अवसरमा सञ्चालित फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमी र हाइल्याण्ड वारियर एक अर्काबीच आम्ने साम्ने आउने भएका छन् । बिहीबार प्रि–क्वार्टरफाइनल चरणको खेलमा हेटौंडा फुटबल एकेडेमी र हाइल्याण्ड वारियर क्वार्टरफाइनल प्रवेशका लागि आम्ने साम्ने आउने भएका हुन् । दुबै टोली जीतको लक्ष्यसहित मैदानमा उत्रने छन् । खेल दिउँसो साढे १ बजेबाट सुरु हुने टिम म्यानेजर छिरिङ लामाले जानकारी दिएका छन् ।

शुक्रबार भएको राउण्ड अफ ३२ को आफ्नो पहिलो खेलमा साविक विजेता समेत रहेको हेटौंडा फुटबल एकेडेमीले माम्रिङ ब्वाइजलाई ८–१ गोलको फराकिलो अन्तरले पराजित गर्दै प्रि–क्वार्टरफाइनलमा आफ्नो स्थान सुरक्षित गरेको थियो भने बिहीबार भएको आफ्नो पहिलो राउण्ड अफ ३२ को खेलमा हाइल्याण्ड वारियरले एनजेसी सिम्केलाई ३–१ गोलले हराउँदै हाइल्याण्ड वारियरले प्रि–क्वार्टरफाइनल आफ्नो स्थान सुरक्षित गरेको थियो । बुधबारको खेलमा हेटौंडा फुटबल एकेडेमीले हाइल्याण्ड वारियरलाई पराजित गर्न सकेमा अगष्ट ७ तारिखमा फार्म ब्वाइज र मिक्सड अफ ब्वाइजबीच विजेता बन्ने टिमसँग प्रतिस्पर्धा गर्नुपर्ने टिम म्यानेजर छिरिङ लामाले बताए ।

हेटौंडा फुटबल एकेडेमीको टोलीले यो सँगै सिक्किममा इन्डिपेन्डेनस डे को अवसरमा सञ्चालन भइरहेको अन्य विभिन्न फुटबल प्रतियोगिताहरुमा सहभागिता जनाएको छ । मुनसोङ स्पोर्टस् क्लबको आयोजनामा जुलाई २६ तारिखबाट सुरु भएको फुटबल प्रतियोगिताको फाइनल खेल भने अगष्ट १५ अर्थात इन्डिपेन्डेनस डे को दिन हुनेछ ।

विगत ३ वर्ष देखि भारतको सिक्किमसहित पश्चिम वंगाल प्रदेशको कालिम्पोङ जिल्लाको मुनसोङमा सञ्चालित प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमीले सहभागिता जनाउँदै आएको छ । यद्यपि हेटौंडा फुटबल एकेडेमीको टोलीले ३ वर्षको अवधिमा मुनसोङको फुटबल प्रतियोगितामा पहिलो वर्ष उपविजेता बनेको छ भने दोस्रो र तेस्रो वर्ष लगातार उपाधि उचालेको छ । गत वर्ष सम्पन्न भएको फुटबल प्रतियोगितामा हेटौंडा फुटबल एकेडेमीले आर्दश युथ क्लब सिङतानलाई ४–१ गोलले हराउँदै उपाधि जितेको थियो ।

प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । क्लबले यस वर्षबाट प्रतियोगिताको पुरस्कार राशिको रकम बढाएको हो