हेटौँडा/हेटौँडा उपमहानगरपालिकासहित मकवानपुर जिल्लाका विभिन्न स्थानीय तहमा सञ्चालित डान्स बार, दोहोरी साँझ तथा होटलहरूमा कानुनविपरीतका गतिविधि भइरहेको भन्दै उज्यालो नेपाल पार्टीले जिल्ला प्रशासन कार्यालय मकवानपुरको ध्यानाकर्षण गराएको छ।
बुधबार पार्टीको जिल्ला कार्यसमिति मकवानपुरको आयोजनामा जिल्ला उपाध्यक्ष उत्तम गोम्जा लामाको नेतृत्वमा करिब १५ सदस्यीय टोलीले प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै यस्ता गतिविधि नियन्त्रण गर्न माग गरेको हो।
ज्ञापनपत्रमा हेटौँडालगायतका क्षेत्रमा मर्यादित व्यवसायको आवरणमा सामाजिक विकृति बढाउने, सामाजिक असुरक्षा निम्त्याउने तथा आपराधिक गतिविधिलाई प्रश्रय दिने खालका गतिविधि भइरहेको उल्लेख गरिएको छ। यस्ता गतिविधिप्रति सर्वसाधारणको गुनासो बढ्दै गएको पार्टीको दाबी छ।
पार्टीले अवाञ्छित गतिविधि समयमै नियन्त्रण गर्न नसके समाजमा थप जटिल सामाजिक समस्या तथा अप्रिय घटना निम्तिन सक्ने चेतावनी दिएको छ।
स्थिति नियन्त्रणबाहिर जानुअघि सम्बन्धित निकायले प्रभावकारी अनुगमन तथा आवश्यक अनुसन्धान गरी कानुनविपरीतका गतिविधिमा संलग्नलाई कानुनबमोजिम कारबाही गर्न पार्टीले जिल्ला प्रशासन कार्यालयसँग माग गरेको हो ।









