हेटौँडा/आफ्नो ६०औँ स्थापना दिवसलाई सामाजिक सेवासँग जोड्दै मकवानपुर उद्योग वाणिज्य संघ (मउवासंघ) ले हेटौँडा–१५ रातोमाटेस्थित दिव्य सेवा निकेतन ज्येष्ठ नागरिक आश्रय स्थललाई खाद्यान्न सामग्री सहयोग गरेको छ।

सोमबार आश्रममै आयोजित कार्यक्रममा संघका अध्यक्ष प्रमोद सिंह रानाभाटले खाद्यान्न सामग्री हस्तान्तरण गर्दै स्थापना दिवसलाई औपचारिक समारोहभन्दा सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले सहयोग गरिएको बताउनुभयो। आश्रमको आवश्यकता बुझेर सहयोग गरिएको उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि आवश्यक सहयोगमा संघ प्रतिबद्ध रहने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा दिव्य सेवा निकेतनका टीआर निरौलाले आश्रमको स्थापना, सञ्चालन र सामाजिक गतिविधिबारे जानकारी गराउनुभयो। उहाँका अनुसार काठमाडौँस्थित केन्द्रीय कार्यालय रहेको संस्थाले २०६४ सालदेखि ज्येष्ठ नागरिकलाई आश्रय प्रदान गर्दै आएको छ। साथै संस्थाले १६ वटा सरकारी विद्यालयका ४६३ जना गरिब तथा जेहेन्दार विद्यार्थीको शैक्षिक जिम्मेवारीसमेत वहन गर्दै आएको जानकारी दिँदै यस अभियानमा मउवासंघका पदाधिकारीहरूलाई सहकार्यका लागि आग्रह गर्नुभयो।

कार्यक्रममा संघकी महासचिव प्रतिमा श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष दीपक उप्रेतीलगायतले सामाजिक सेवामा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको धारणा राखेका थिए। कार्यक्रममा मउवासंघका पदाधिकारी, कार्यसमिति सदस्य तथा आश्रममा आश्रित ज्येष्ठ नागरिकहरूको सहभागिता रहेको थियो।