हेटौंडा/हेटौंडास्थित एक दोहोरी साँझमा कार्यरत युवतीको शंकास्पद मृत्यु भएपछि प्रहरीले घटनाको अनुसन्धान तीव्र बनाएको छ। घटनामा संलग्न भएको आशंकामा दोहोरीका म्यानेजरलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

मृतक भरतपुर महानगरपालिका–११ की स्थायी बासिन्दा तथा हाल हेटौंडा उपमहानगरपालिका–१० मा डेरा गरी बस्दै आएकी अनिशा बिक हुन्।

प्रारम्भिक जानकारीअनुसार अनिशा हेटौंडास्थित आरआर दोहोरी तथा थकाली घर मा काम सकेपछि आफ्नै कोठामा फर्किएकी थिइन्। केही समयपछि उनी बेहोस अवस्थामा फेला परेपछि उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो। अस्पताल पुगेपछि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

घटनाको प्रकृति शंकास्पद देखिएपछि प्रहरीले दोहोरीका म्यानेजर सुवास स्याङ्तान लाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ।

प्रहरी स्रोतका अनुसार प्रारम्भिक अनुसन्धानमा काम गर्ने क्रममा म्यानेजर र अनिशाबीच विवाद भएको तथा कुटपिटसमेत भएको देखिएको छ। त्यसपछि अनिशा आफ्नो कोठामा गएकी र पछि झुन्डिएको अवस्थामा भेटिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। म्यानेजरले नै उनलाई झुन्डिएको अवस्थाबाट निकालेर अस्पताल पुर्‍याएको पनि प्रहरीको भनाइ छ।

यद्यपि, मृत्युको वास्तविक कारण पोस्टमार्टम प्रतिवेदन र विस्तृत अनुसन्धानपछि मात्रै पुष्टि हुने भएकाले घटनाबारे थप निष्कर्ष निकाल्न हतार गर्न नहुने प्रहरीले जनाएको छ।