हेटौँडा/ निर्माण व्यवसायी सङ्घ मकवानपुरले नारायणी यातायात व्यवसायी सङ्घ, हेटौँडाका नवनिर्वाचित पदाधिकारी एवं कार्यसमिति सदस्यहरुलाई स्वागत तथा सम्मान गरेको छ ।

निर्माण व्यवसायी सङ्घ मकवानपुरले शनिबार हेटौँडामा सम्मान कार्यक्रमको आयोजना गरी नारायणी यातायात व्यवसायी सङ्घको १६ औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको सम्मान गरेको हो । सो कार्यक्रममा मकवानपुरका व्यावसायिक संस्थाहरुबिच सहकार्यमा जोड दिइएको थियो ।

निर्माण संघका अध्यक्ष बालगोपाल कंड्ेलले यातायात व्यवसायी सङ्घको नवनिर्वाचित नेतृत्वले संघमा आवद्ध सदस्यहरुको हकहित प्रवद्र्धनमा नयाँ कार्यक्रम र सोचका साथ काम गर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले मकवानपुरका व्यावसायिक संघसंस्थाले सहकार्यमा सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आएको चर्चा गर्दै व्यावसायिक संघसंस्थाबिचको सहकार्यले अपनत्व र भाइचाराको विकास हुने बताउनुभयो ।

नारायणी यातायात व्यवसायी सङ्घका नवनिर्वाचित अध्यक्ष सरोजकुमार खनालले अहिले सबै क्षेत्रको व्यवसाय सङ्क्रमणकालीन अवस्थामा रहेको भन्दै व्यवसायीहरुबिच एकता आवश्यक रहेको औँल्याउनुभयो ।

उहाँले विगतमा यातायात क्षेत्रमाथि विभिन्न बहानामा आक्रमण गर्ने कार्य भएको भन्दै उद्योग व्यवसाय क्षेत्रको विकासले मात्र आर्थिक समृद्धि प्राप्त गर्न सकिने बताउनुभयो ।

निर्माण संघका वरिष्ठ उपाध्यक्ष सागर कटुवालले दुई व्यावसायिक सङ्घबिचको समन्वय र सहकार्यलाई थप सुदृढ बनाउनु अहिलेको आवश्यकता भएको बताउनुभयो ।