हेटौँडा/युवाहरूको उद्यमशीलता विकास, सीपमूलक तालिम तथा स्वरोजगार प्रवर्द्धनमा सक्रिय संस्था युथ इको नेपालले हेटौँडामा ‘ग्रान्ड ब्यूटी एक्स्पो–२०८३’ आयोजना गर्ने भएको छ।

संस्थाले शुक्रबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार ब्यूटी तथा हेयर क्षेत्रका अन्तर्राष्ट्रियस्तरका प्रशिक्षकहरूको सहभागितामा दुईदिने कार्यक्रम सञ्चालन गर्न लागेको कार्यक्रम संयाेजक सुष्मा राना मगरले जानकारी गराइन्। कार्यक्रममा भारतकी चर्चित मेकअप आर्टिस्ट भूमिका बहल (Bhumika Bahl) ले आधुनिक तथा वैज्ञानिक मेकअप प्रविधिबारे प्रत्यक्ष प्रशिक्षण दिने उनले जानकारी गराइन्।

त्यसैगरी, हेयर कलरिङ विशेषज्ञ म्याक अब्राहम (Mack Abrahem) ले आधुनिक हेयर कलरिङ प्रविधि तथा लोकप्रिय हेयर आर्टिस्ट सन्नी कुमार (Sunny Kumar) ले समसामयिक हेयरकट, हेयर स्टाइलिङ र हेयर केमिकलसम्बन्धी विशेष प्रशिक्षण प्रदान गर्ने कार्यक्रम रहेको छ।

आयोजकका अनुसार कार्यक्रममा लगभग १ हजार जना भन्दा बढी सहभागी हुने र सम्पूर्ण प्रशिक्षार्थीलाई अन्तर्राष्ट्रिय प्रमाणपत्र (International Certificate) प्रदान गरिनेछ। उद्घाटन समारोहमा दार्जिलिङ–मिरिककी गायिका इनुङ्मा राई (Inungma Rai) को विशेष सांगीतिक प्रस्तुति रहने पनि जनाइएको छ।

कार्यक्रम साउन २९ र ३० गते हेटौँडा–१, चौकीटोलस्थित हिमालयन दरबारमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गरिने आयोजकले जनाए। कार्यक्रमको टिकट शुल्क रु. ३ हजार ५ सय निर्धारण गरिएको आयोजकले जनाएको छ। कार्यक्रममा लगभग १५ लाख देखि २० लाख सम्म खर्च हुने अनुमान गरेको संयाेजक रानाले बताइन् ।

युथ इको नेपालले सौन्दर्यकर्मी, ब्यूटी प्रोफेसनल, विद्यार्थी तथा उद्यमशीलतामा रुचि राख्ने सबैलाई कार्यक्रममा सहभागी भई अन्तर्राष्ट्रिय प्रशिक्षकहरूबाट ज्ञान, सीप र अनुभव हासिल गर्न आग्रह गरेको छ।