हेटौँडा/जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा धार्मिक सद्भाव, सामाजिक एकता र सहिष्णुता कायम राख्न सबै नागरिक तथा समुदायलाई जिम्मेवार बन्न आग्रह गरेको छ।

सुनसरीमा दुई समुदायबीच भएको झडप र त्यसपछि देशका विभिन्न स्थानमा देखिएका प्रदर्शन तथा तनावपूर्ण गतिविधिलाई ध्यानमा राख्दै प्रशासनले बिहीबार सार्वजनिक अपिलमार्फत मकवानपुरमा यस्ता अप्रिय घटना हुन नदिन सबै पक्षको सक्रिय सहयोग आवश्यक रहेको जनाएको हो।

प्रशासनका अनुसार मकवानपुर बहुधार्मिक तथा बहुसांस्कृतिक जिल्ला भएकाले यहाँका सबै समुदायबीच आपसी सम्मान, सहकार्य र सामाजिक सद्भावलाई निरन्तर मजबुत बनाउनुपर्ने आवश्यकता रहेको छ। कुनै पनि गतिविधिले धार्मिक वा सामाजिक द्वन्द्व निम्त्याउने अवस्था सिर्जना हुन नदिन संयमता अपनाउन प्रशासनले आग्रह गरेको छ।

अपिलमा धार्मिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गर्दा अन्य समुदायलाई असर पुग्ने गरी लाउडस्पिकर, माइक वा साउण्ड बक्सको अत्यधिक प्रयोग नगर्न पनि अनुरोध गरिएको छ। धार्मिक स्वतन्त्रताको सम्मानसँगै स्थानीय बासिन्दा तथा अन्य समुदायको संवेदनशीलतालाई समेत ख्याल गरेर गतिविधि सञ्चालन गर्न प्रशासनले आग्रह गरेको छ।

जिल्ला प्रशासन कार्यालयले कानुनको पूर्ण पालना गर्न, अफवाहमा विश्वास नगर्न तथा सामाजिक सद्भाव भड्काउने कुनै पनि गतिविधिमा संलग्न नहुन सबै नागरिकसँग अपिल गर्दै शान्ति, सुरक्षा र धार्मिक सहिष्णुता कायम राख्न सबैको सहयोग आवश्यक रहेको जनाएको छ।