हेटौँडा । मकवानपुरको हेटौँडा–११ थानाभर्याङमा ४१ वर्षीय आस्मान गोपाली मृत फेला परेको घटनामा प्रहरीले अनुसन्धानलाई तीव्र बनाएको छ। घटनासँग सम्बन्धित रहेको आशंकामा ६ जनालाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।
थाहा नगरपालिका–१० का स्थायी बासिन्दा गोपाली आइतबार बिहान करिब ६ः१५ बजे यातायात व्यवस्था कार्यालय नजिक शंकास्पद अवस्थामा मृत फेला परेका थिए। घटनापछि प्रहरीले अनुसन्धान अघि बढाउँदै उनीसँगै हेटौँडाको एक होटलमा तीन वटा कोठा लिएर बसेका ६ जनालाई नियन्त्रणमा लिएको हो।
प्रारम्भिक अनुसन्धानअनुसार गोपाली र नियन्त्रणमा रहेका व्यक्तिहरू ग्राहकका रूपमा होटलमा बसेका थिए। होटलमा उनीहरूबीच विवाद भएको आशंका गरिएको छ। मृतकका आफन्तले दिएको किटानी जाहेरीका आधारमा पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।
घटनाको राति आसपासका स्थानीयले झगडा भएको र सहयोगका लागि गुहार मागिएको आवाज सुनेको जानकारी प्रहरीलाई दिएका छन्। त्यसैलाई आधार बनाएर प्रहरीले घटनाको विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ।
घटनाको वास्तविकता पत्ता लगाउन बागमती प्रदेश प्रहरी कार्यालयको केनाइन शाखाबाट स्निफर डगसहितको टोली परिचालन गरिएको छ। साथै घटनास्थल आसपासका होटल तथा सडकमा जडान गरिएका सिसिटिभी क्यामेराको फुटेज विश्लेषण गरी प्रमाण संकलनको काम पनि भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे अनुसन्धान जारी रहेकाले मृत्युको वास्तविक कारण अनुसन्धानपछि मात्र खुल्नेछ।











