हेटौँडा/अनलाइन ठगीमा संलग्न रहेको आरोपमा मकवानपुर प्रहरीले तीन भारतीय नागरिकसहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार बिहीबार उनीहरूले विभिन्न प्रलोभन देखाई अनलाइनमार्फत ठगी गर्ने गरेको सूचनाका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय मकवानपुर र वडा प्रहरी कार्यालय हेटौँडाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले चारजनालाई पक्राउ गरेको थियो ।
पक्राउ पर्नेमा भारत बिहारको पटनाका २७ वर्षीय इन्द्रजित सरकार, २० वर्षीय सहर्षजित सरकार र २३ वर्षीय अमनराज तथा हेटौँडा–१०, बसपार्कस्थित बास्तोला होटलका सञ्चालक ३७ वर्षीय दीपक बास्तोला पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
अनुसन्धानका क्रममा उनीहरूले प्रयोग गर्ने मोबाइल डिभाइसमा टेलिग्राम, ह्वाट्सएपलगायतका एपमार्फत समूह बनाएर रकमको कारोबार गरेको पाइएको प्रहरीले जनाएको छ । उनीहरूमाथि अनलाइन ठगीसम्बन्धी कसुरमा मकवानपुर जिल्ला अदालत हेटौँडाबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूले प्रयोग गरेका युजर आईडी तथा नम्बरबाट ठगीमा परेका व्यक्तिहरूलाई प्रमाणसहित जिल्ला प्रहरी कार्यालय मकवानपुरको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सम्पर्क गर्न अनुरोध गरेको छ।












