हेटौँडा/ मकवानपुरको मनहरी गाउँपालिका–७ मा मापदण्डविपरीत सञ्चालन हुँदै आएको ह्यान्बिट नानो थेरापी सेन्टर माथि जिल्ला प्रशासन कार्यालय मकवानपुरले कारबाही गरेको छ।
शुक्रबार जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीले गरेको निरीक्षणका क्रममा सेन्टरले आवश्यक कानुनी अनुमति तथा तोकिएका मापदण्ड पूरा नगरी उपचारसम्बन्धी सेवा सञ्चालन गरेको भेटिएको हो।
अनुगमनपछि प्रशासनले उक्त सेन्टरलाई तत्कालका लागि सिल गर्नुका साथै ३ लाख रुपैयाँ जरिवाना गरेको जनाएको छ।
प्रशासनका अनुसार स्वास्थ्यसम्बन्धी सेवा सञ्चालन गर्न आवश्यक कानुनी प्रक्रिया र मापदण्डको पालना नगरेको पुष्टि भएपछि कारबाही गरिएको हो।
जिल्ला प्रशासन कार्यालयले जिल्लाभित्र सञ्चालनमा रहेका स्वास्थ्य तथा उपचार सेवा प्रदायक संस्थाहरूको नियमित अनुगमनलाई थप प्रभावकारी बनाइने जनाएको छ। साथै कानुनविपरीत सेवा सञ्चालन गर्ने संस्थामाथि आवश्यक कारबाहीलाई निरन्तरता दिइने प्रशासनको भनाइ छ।












