हेटौँडा/जिल्ला प्रशासन कार्यालय मकवानपुरले हेटौँडा–१ र २ क्षेत्रमा सञ्चालित मासु पसलहरूको अनुगमनका क्रममा चार वटा पसललाई कुल ६ लाख रुपैयाँ जरिवाना गरेको छ।
अनुगमनका क्रममा न्यौपाने मासु पसल र ओम् फ्रेस मिट सप लाई जनही २–२ लाख रुपैयाँ तथा क्वालिटी मिट सप र सलाम मिट सप लाई जनही १–१ लाख रुपैयाँ जरिवाना गरिएको प्रशासनले जनाएको छ।
प्रशासनका अनुसार समयमै करचुक्ता नगरेको, पसलको सरसफाइ मापदण्डअनुसार नरहेको तथा मासु भण्डारण (फ्रिजिङ) प्रक्रिया अव्यवस्थित रहेको पाइएपछि कारबाही गरिएको हो।
यस्तै, विकी मिट सप र प्रतीक मिट सप लाई सरसफाइमा सुधार गर्न निर्देशन दिइएको छ। प्रशासनले उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित व्यवसायमा मापदण्ड पालना नगर्नेहरूलाई आगामी दिनमा पनि कडा कारबाही गरिने चेतावनी दिएको छ।












