काठमाडौं/अष्ट्रेलियाकी एक महिलाले कुनै पनि प्रजनन् प्रविधि वा आईभीएफ प्रयोग नगरी प्राकृतिकरुपमा उस्तै स्वरुपका चार छोरी (आइडेन्टिकल क्वाड्रुप्लेट्स) जन्माएकी छन् । चिकित्सकहरुले यसलाई अत्यन्त दुर्लभ र चिकित्सा विज्ञानकै अनौठो घटनामध्ये एक मानेका छन् ।
रोयल ब्रिसबेन एण्ड वुमेन्स अस्पतालका अनुसार ३४ वर्षीया जेनिटर नांअमोआनाले जुलाई १४ मा २८ हप्ता ४ दिनको गर्भावस्थामा शल्यक्रियामार्फत् चार छोरी जन्म दिएकी हुन् । यी चार शिशु एउटै निषेचित अण्डा चार भागमा विभाजित भएर विकसित भएका मोनोजाइगोटिक क्वाड्रुप्लेट्स हुन् । मातृशिशु चिकित्सा विशेषज्ञ डा. अलेक्सा बेण्डालका अनुसार यस्तो घटना करिब १ करोड ५० लाख गर्भधारणमध्ये एक पटकमात्र हुने सम्भावना रहन्छ । अझ चार शिशुले एउटै प्लेसेन्टा (पाठेघरको साल) साझा गर्नु झन् दुर्लभ अवस्था हो । उच्च जोखिमका कारण जेनिटरलाई २५ हप्ताको गर्भदेखि नै अस्पतालमा भर्ना गरेर निरन्तर निगरानीमा राखिएको थियो । चिकित्सकहरुले कम्तिमा २८ हप्तासम्म गर्भ सुरक्षित राख्ने लक्ष्य राखेका थिए । अन्ततः २८ हप्ता ४ दिनमा चार शिशुको सुरक्षित जन्म भएपछि चिकित्सकहरुले यसलाई ठूलो सफलता र चामत्कारिक उपलब्धि बताएका छन् ।
नवजात छोरीहरुको नाम एमिली, ह्यारियट, क्याथरिन र अलेक्सा राखिएको छ । तीमध्ये एक शिशुको नाम उनको उपचारमा संलग्न डा.अलेक्सा बेण्डालको सम्मानमा राखिएको परिवारले जनाएको छ । हाल चार शिशुलाई नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयु) मा राखिएको छ र उनीहरुको स्वास्थ्य अवस्था राम्रो रहेको अस्पतालले जनाएको छ ।
जेनिटर र उनका पति जोर्थमका यसअघि नै १ देखि १० वर्ष उमेर समूहका चार सन्तान छन् । नयाँ चार छोरीको जन्मसँगै परिवारका सदस्यको संख्या १० पुगेको छ । ठूलो परिवारको व्यवस्थापनका लागि उनीहरुले १० सिट क्षमताको भ्यान खरिद गर्ने योजना बनाएका छन् भने शिशुहरुको पालनपोषणका लागि अनलाइन सहयोग अभियान पनि सञ्चालन गरेका छन् ।
परिवारले सार्वजनिक गरेको सहयोग अभियानमार्फत् हालसम्म ८८ हजार अमेरिकी डलरभन्दा बढी आर्थिक सहयोग संकलन भइसकेको छ । चिकित्सकहरुका अनुसार कुनै पनि प्रजनन् उपचारको सहारा नलिइ प्राकृतिकरुपमा उस्तै स्वरुपका चार शिशुको जन्म हुनु विश्वमै अत्यन्त दुर्लभ र उल्लेखनीय घटना हो ।












