हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ झमसिङटार नजिक भित्री सडकखण्डमा बालुवा बोकेको ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शुक्रबार साँझ करिब ५ बजे हेटौँडा बजारबाट झमसिङटारतर्फ जाँदै गरेको म.प्र.०३–००२ त ०३९७ नम्बरको बालुवा लोड गरिएको ट्याक्टर उकालो कच्ची सडकमा चिप्लिएर अनियन्त्रित भई पल्टिएको थियो।

दुर्घटनामा ट्याक्टर चालक सल्यानको कपुरकोट गाउँपालिका–३ निवासी अन्दाजी २२ वर्षीय बिक्रम खड्का गम्भीर घाइते भएका थिए। स्थानीय र प्रहरीको सहयोगमा उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल ल्याइएकोमा राति करिब १०ः३० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।