हेटौँडा/ पार्लेजी बिस्कुट फ्याक्ट्रीमा जागिर लगाइदिने प्रलोभन देखाएर विभिन्न व्यक्तिबाट रकम ठग्ने गरेको आरोपमा मकवानपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हेटौँडा उपमहानगरपालिका–६ निवासी २४ वर्षीय रबिन गौतम रहेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार गौतमले हेटौँडा औद्योगिक क्षेत्रस्थित पार्लेजी बिस्कुट फ्याक्ट्रीमा जागिर लगाइदिने भन्दै विभिन्न व्यक्तिबाट प्रतिव्यक्ति ३ हजार रुपैयाँका दरले रकम उठाएका थिए। रकम लिएपछि जागिर नदिएको भन्दै पीडितहरूले दिएको निवेदनका आधारमा उनलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा गौतमले २०० भन्दा बढी व्यक्तिलाई जागिरको प्रलोभन देखाएर ठगी गरेको खुल्न आएको प्रहरीले जनाएको छ।
प्रहरीले मकवानपुर जिल्ला अदालतबाट ठगी सम्बन्धी कसुरमा म्याद अनुमति लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।