काठमाडौं/वैज्ञानिकहरुले करिब १५ करोड वर्षअघि (लेट जुरासिक काल) पृथ्वीमा विचरण गर्ने नयाँ डायनासोर प्रजाति पत्ता लगाएका छन् । उरागासौरस कालासिनेन्सिस नाम दिइएको यस नयाँ प्रजाति थाइल्याण्डको उत्तरपूर्वी क्षेत्रमा फेला परेको हो ।
यस खोज महासारखाम विश्वविद्यालयका डा. अपिरुत निलपनापनको नेतृत्वमा गरिएको अनुसन्धान टोलीले गरेको हो । यससम्बन्धि अध्ययन जुलाई ८ मा प्रतिष्ठित वैज्ञानिक पत्रिका नेचरमा प्रकाशित भएको थियो । अनुसन्धानका अनुसार उरागासौरस मामेन्चिसौरिडे परिवारको लामो घाँटी भएको शाकाहारी डायनासोर हो । यस परिवारका डायनासोरहरुको घाँटी करिब ६६ फिटसम्म लामो हुने गरेको वैज्ञानिकहरुले बताएका छन् ।
अनुसन्धानका क्रममा वैज्ञानिकहरुले सुरक्षित अवस्थामा रहेका जीवाश्म हड्डीहरुको अध्ययन गर्दै अन्य लामो घाँटी भएका साउरोपोड डायनासोरसँग तुलना गरेका थिए । सिटी स्क्यान र त्रिआयामिक (३ डी) पुनर्निर्माण प्रविधि प्रयोग गरेर हड्डीको भित्री तथा बाहिरी संरचनाको विस्तृत विश्लेषण गरिएको थियो । अध्ययनमा प्रयोग गरिएको ढाडको माथिल्लो भागको कशेरुका (डोर्सल भर्टिब्रा) अन्य कुनै पनि परिचित डायनासोरसँग नमिल्ने देखिएपछि यो पूर्णरुपमा नयाँ प्रजाति भएको निष्कर्ष निकालिएको हो ।
डा. निलपनापनका अनुसार यस डायनासोरको हड्डीभित्र रहेको विशेष हावायुक्त संरचना संसारका अन्य कुनै पनि डायनासोरमा नदेखिएको प्रकारको छ । यही विशेषताले यसलाई नयाँ प्रजातिका रुपमा चिनाएको उनले बताएका छन् । यस जीवाश्म थाइल्याण्डको फुनोइ क्षेत्रमा फेला परेको हो, जहाँ लेट जुरासिक कालका विभिन्न जीवाश्महरु प्रशस्त मात्रामा भेटिने गरेका छन् ।
नयाँ प्रजाति पहिचान गर्न सफल भएपछि आफू अत्यन्त उत्साहित भएको उल्लेख गर्दै डा. निलपनापनले खुशीको आवेगमा आफ्नो कम्प्युटर नै फुटाएको अनुभव साझा गरेका छन् । यसअघि मामेन्चिसौरिडे परिवारका अधिकांश जीवाश्म चीनमा मात्र भेटिएका थिए । थाइल्याण्डमा पहिलो पटक यस परिवारको जीवाश्म भेटिएकाले दक्षिण चीनबाट दक्षिणपूर्वी एसियातर्फ यी डायनासोर फैलिएको वा बसाइँ सरेको हुनसक्ने वैज्ञानिकहरुको अनुमान छ ।
यसअघि पनि वैज्ञानिकहरुले थाइल्याण्डमै फेला परेको नागाटाइटन नामक अर्को विशाल लामो घाँटी भएको शाकाहारी डायनासोरको घोषणा गरेका थिए । करिब ८८ फिट लामो र २९ टनभन्दा बढी तौल भएको नागाटाइटन दक्षिणपूर्वी एसियामा हालसम्म फेला परेको सबभन्दा ठूलो डायनासोर मानिन्छ ।












