हेटौंडा । हेटौंडा उपमहानगरसँग जोडिएको मकवानपुरगढी गाउँपालिका–३ मा गरिएको सामुदायिक स्वास्थ्य अध्ययनले खानेपानीमा दिसाजन्य जीवाणु (कोलिफर्म) को संक्रमण पाइएको बताएको छ ।

खानेपानीको गुणस्तर परीक्षणका क्रममा टावरडाँडा खानेपानी आयोजनाको सुशासन टोलस्थित प्रसारण धारा, टावरडाँडाको लिफ्टिङ ट्यांकीको पानीमा दिसाजन्य कोलिफर्म जीवाणु फेला परेको तथा मक्रानडाँडास्थित खुला मुहानमा संक्रमण भेटिएको एक प्रतिवेदनमा उल्लेख छ । खानेपानीको नियमित गुणस्तर परीक्षण, क्लोरिनेसनलगायत आवश्यक शुद्धीकरण प्रक्रिया लागु गर्न तथा पानी उमालेर वा अन्य विधिबाट शुद्धीकरण गरीमात्र पिउने बानी विकास गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रतिवेदनले सुझाव दिएको छ ।

गाउँमा २० वर्षमुनिका महिलामा उच्च गर्भावस्था, विद्यालयआसपास सूर्तिजन्य पदार्थ र मदिराको सहज बिक्री, विषादीको अत्यधिक प्रयोग तथा मातृ स्वास्थ्य सेवाका चुनौतीहरु उजागर गरेको छ । नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा जनस्वास्थ्य (बीपीएच) दोस्रो वर्षमा अध्ययनरत विद्यार्थीले एक महिनासम्म समुदायमा पुगेर गरेको अध्ययनपछि आइतबार गाउँपालिकाको सभाहलमा सार्वजनिक गरिएको प्रतिवेदनमा यस्ता समस्या औंल्याउँदै सुधारका लागि स्थानीय सरकार तथा सम्बन्धित निकायलाई विस्तृत सुझाव दिएका हुन् ।

अध्ययनका क्रममा दुग्ध उत्पादन तथा व्यावसायिक खेतीमा अत्यधिक विषादी प्रयोग भइरहेको गुनासो पनि प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । विषादीको सुरक्षित प्रयोगबारे किसानलाई नियमित तालिम, जनचेतनामूलक कार्यक्रम, खाद्यवस्तुको गुणस्तर परीक्षण तथा विषादीयुक्त खाद्यवस्तुको बजार अनुगमनलाई प्रभावकारी बनाउन सम्बन्धित निकायलाई टोलीले आग्रह गरेको छ ।

प्रतिवेदनले वडामा २० वर्षमुनिका महिलामा गर्भावस्थाको दर २० प्रतिशत रहेको देखाएको छ । टोलीले यसलाई गम्भीर जनस्वास्थ्य चुनौतीका रुपमा ब्याख्या गर्दै बालविवाह न्यूनीकरण, किशोर–किशोरीमैत्री यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा, परिवार नियोजनसम्बन्धी परामर्श तथा समुदायस्तरमा नियमित सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ ।

गर्भवतीका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा नरहेको गुनासो पनि अध्ययनका क्रममा प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । संस्थागत सुत्केरीलाई थप प्रभावकारी बनाउन तथा गर्भावस्थाका जोखिम न्यूनीकरण गर्न यस्तो सेवा सञ्चालन गर्नुपर्ने सुझाव टोलीले दिएको छ । गर्भावस्था र सुत्केरीपछिको मानसिक स्वास्थ्य समस्यालाई सम्बोधन गर्न लक्षित महिलाका लागि मनोसामाजिक परामर्श कार्यक्रम अनिवार्यरुपमा सञ्चालन गर्नुपर्ने आवश्यकता पनि प्रतिवेदनले औंल्याएको छ ।

विद्यालयवरपर १ सय मिटर क्षेत्रभित्र मदिरा, सूर्तिजन्य पदार्थ तथा धुमपानजन्य वस्तुको बिक्रीवितरण निषेध गर्ने कानुनी व्यवस्था व्यवहार प्रभावकारीरुपमा कार्यान्वयन नभएको गुनासो विद्यार्थी र स्थानीयबाट प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । विद्यालयपरिसरमा पत्रु (जंक) खाना बिक्री तथा सेवन नियन्त्रण गर्न, विद्यार्थीमा स्वस्थ्य खानपानको बानी विकास गर्न र स्थानीय पाठ्यक्रममा नैतिक शिक्षा समावेश गर्न सम्बन्धित निकायलाई टोलीले सुझाव दिएको छ ।

सर्वेक्षण समूह प्रमुख राशि श्रेष्ठको सभाध्यक्षता तथा मकवानपुरगढी गाउँपालिका–३ का वडा अध्यक्ष भागवत घिमिरेको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विद्यार्थी टोलीले वडा–३ मा घरधुरी सर्वेक्षण, सरोकारवालासँग अन्तर्वार्ता, विद्यालयका विद्यार्थीहरुसँग छलफल, समूहकेन्द्रित छलफल, स्वास्थ्य शिक्षा, सामुदायिक अन्तत्र्रिmया तथा सूक्ष्म स्वास्थ्य परियोजनाअन्तर्गत विभिन्न विधिबाट तथ्यांक संकलन गरी तयार पारिएको प्रतिवेदन सार्वजनिक गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष घिमिरेले पालिकाले स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै चालु आर्थिक वर्षमा करिब एक करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो । विकास निर्माणसँगै स्वास्थ्य क्षेत्रलाई पनि समान प्राथमिकतामा राखेर काम भइरहेको उल्लेख गर्दै उहाँले विद्यार्थी टोलीको अध्ययनले समुदायको वास्तविक स्वास्थ्य अवस्था उजागर गरेको र प्रतिवेदनमा समेटिएका सुझावले आगामी स्वास्थ्य योजना निर्माण तथा सेवा सुधारमा महत्वपूर्ण आधार प्रदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

मक्राञ्चुली सामुदायिक स्वास्थ्य एकाईं प्रमुख नारायणप्रसाद घोरसैनीले सेनाको विद्यार्थी टोलीले तयार पारेको प्रतिवेदन स्वास्थ्य सेवा सुधारका लागि मार्गदर्शक दस्तावेज बन्ने बताउनुभयो । जनशक्ति अभावका कारण सेवाप्रवाहमा केही चुनौती रहेको र हाल पालिकाले थप जनशक्ति व्यवस्थापन गरिएको उहाँले बताउनुभयो । घोरसैनीले वडालाई स्वास्थ्य सेवाका दृष्टिले नमुना वडा बनाउने अभियान अघि बढाइएको जानकारी दिँदै करिब एक महिना घरघर पुगेर गरिएको अध्ययनबाट प्राप्त तथ्यांकले आगामी योजना निर्माणमा महत्वपूर्ण सहयोग पुग्ने भनाइ राख्नुभयो ।

सहभागीहरुले समुदायमै पुगेर गरिएको अध्ययनले स्थानीय स्वास्थ्य अवस्थाको वास्तविक चित्र प्रस्तुत गरेको भन्दै प्रतिवेदनमा समेटिएका सुझावलाई व्यवहारमा कार्यान्वयन गर्न सके वडाको स्वास्थ्य अवस्था सुधारमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

कार्यक्रममा विद्यार्थीहरुले धुमपान, मद्यपान तथा सूर्तिजन्य पदार्थ सेवन र त्यसले व्यक्ति, परिवार तथा समाजमा पार्ने नकारात्मक असर विषयमा सचेतनामूलक नाटक प्रस्तुत गरेका थिए । नाटकमार्फत कुलतको असर, किशोरकिशोरीमा बढ्दो लत तथा त्यसबाट उत्पन्न हुने स्वास्थ्य र सामाजिक समस्याबारे सन्देशप्रवाह गरिएको थियो । कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, टोलविकास संस्थाका पदाधिकारी तथा स्थानीयको सहभागिता थियो ।