काठमाडौं/प्रसूतिको क्रममा मृत्यु भएकी गोठाटारकी मनिता शर्माको उपचारमा लापरबाही भएको ठहर गर्दै उपभोक्ता अदालतले एभरेष्ट अस्पताल र स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा. ज्योत्सना शर्मातिवारीलाई पीडित परिवारलाई कुल ३९ लाख रुपियाँ क्षतिपूर्ति दिन आदेश दिएको छ । अदालतको निर्णयअनुसार एभरेष्ट अस्पतालले ३० लाख र डा. तिवारीले ९ लाख क्षतिपूर्ति तिर्नुपर्नेछ । मनिताका पति सुवास पराजुलीले उपचारमा गम्भीर लापरबाही भएको दाबी गर्दै अदालतमा मुद्धादायर गरेका थिए ।

अदालतले सिभियर प्रिएक्लेम्प्सिया भएकी बिरामीलाई शल्यक्रियाअघि अनिवार्यरुपमा दिनुपर्ने म्याग्नेसियम सल्फेट औषधि समयमै नदिइएको, आवश्यक सतर्कता नअपनाइएको तथा स्थापित उपचार प्रोटोकल पालना नगरिएको निष्कर्ष निकालेको छ । फैसलामा गर्भावस्थाभर मनिता डा. ज्योत्सनाको नियमित निगरानीमा रहेकी र उनको स्वास्थ्य अवस्था जटिल बन्न सक्ने संकेत हुँदाहुँदै पर्याप्त सावधानी नअपनाइएको उल्लेख गरिएको छ । विशेषज्ञ चिकित्सकहरुको राय, विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को उपचार निर्देशिका तथा उपलब्ध चिकित्सा अभिलेखका आधारमा अदालतले उपचारमा गम्भीर कमजोरी भएको ठहर गरेको हो ।

अदालतका अनुसार उपचारमा चिकित्सकको व्यक्तिगत् जिम्मेवारीमात्र नभइ अस्पतालको संस्थागत् तथा प्रशासनिक दायित्व पनि रहने भएकाले दुवै पक्ष उत्तरदायी छन् । विशेषज्ञहरुका अनुसार सिभियर प्रिएक्लेम्प्सिया भएका बिरामीलाई शल्यक्रियाअघि नै म्याग्नेसियम सल्फेट दिनु अन्तर्राष्ट्रियरुपमा स्वीकृत उपचार प्रक्रिया हो । २५ मंसिर, २०८१ मा पेटको माथिल्लो भागमा असह्य पीडा भएपछि मनिता एभरेष्ट अस्पताल पुगेकी थिइन् । त्यसबेला उनको रक्तचाप अत्यधिक उच्च थियो । सिजेरियन शल्यक्रियामार्फत् छोरीको जन्म भए पनि स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो । पछि उनलाई थप उपचारका लागि ह्याम्स अस्पताल रेफर गरिएको थियो, जहाँ भेन्टिलेटरमा राखेर उपचार गरिए पनि सात दिनपछि उनको मृत्यु भएको थियो ।

अदालतले उपचार व्यवस्थापन, विशेषज्ञबीच समन्वय, जोखिमको पूर्वानुमान, सूचनाप्रवाह तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न अस्पताल असफल भएको निष्कर्ष निकालेको छ । डा. ज्योत्सनाले उच्च जोखिमयुक्त अवस्थाको बिरामीमा अपेक्षित सतर्कता र उपचार मापदण्ड पूर्णरुपमा पालना नगरेको ठहर गरिएको छ । सोही आधारमा अदालतले पीडित परिवारलाई ३९ लाख क्षतिपूर्ति उपलब्ध गराउन आदेश दिएको हो ।