हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले अविरल वर्षाका कारण उत्पन्न विपद् जोखिमलाई मध्यनजर गर्दै हेटौँडा–भैंसे–भीमफेदी–देउराली हुँदै काठमाडौं जाने सवारी साधनको सञ्चालन अस्थायी रूपमा रोक्ने निर्णय गरेको छ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार आज साँझ ५ बजेदेखि भोलि बिहान ५ बजेसम्म उक्त सडकखण्ड हुँदै काठमाडौंतर्फ जाने सबै सवारी साधनलाई चौकीटोलमै रोकिने व्यवस्था गरिएको छ।
लगातारको वर्षासँगै सडकमा पहिरो खस्ने, बाढी आउने तथा अन्य प्राकृतिक विपद्को जोखिम बढेकाले यात्रु र सवारी साधनको सुरक्षालाई ध्यानमा राखी यो निर्णय गरिएको प्रशासनले जनाएको छ।
प्रशासनले अत्यावश्यक बाहेकको यात्रा नगर्न तथा सम्बन्धित निकायबाट जारी हुने सूचना र सुरक्षा निर्देशनको पालना गर्न सबैमा आग्रह गरेको छ।