हेटौंडा । हेटौंडास्थित कर्रा खोलामा आएको बाढीले १२ चक्के ट्रक बगाएको छ । तर, ट्रकचालक भने पौडिएर सकुशल ज्यान जोगाउन सफल भएका छन् । विहान करिब ७ः४५ बजे हेटौंडा–१७ हटियास्थित शिवम् सिमेन्टमा ढुंगा अनलोड गरेर फर्कंदै गरेको ना. ७ ख ७६५ नम्बर आइचर ट्रक कर्रा खोलाको बाढीले बगाएको हो ।
प्रहरीका अनुसार ह्युमपाइप हालेर बनाइएको कल्भर्ट पार गर्ने क्रममा अचानक पानीको बहाव बढेपछि ट्रक बगेको थियो । ट्रकचालक चितवनका ३४ वर्षीय दीपक थिङ भने समयमै ट्रकबाट निस्किएर पौडँदै सुरक्षित बाहिरिन सफल भएका छन् । बाढीले बगाएको ट्रक हालसम्म खोलामै छ ।
अविरल वर्षाका कारण सोमबार साँझ ५ बजेदेखि मंगलबार विहान ५ बजेसम्म हेटौंडा–भैंसे–भीमफेदी–देउराली हुँदै काठमाडौं जाने सवारीसाधनहरुलाई विपद् जोखिमका कारण हेटौंडाको चौकीटोलमै रोकिने भएको छ । यसबारे जिल्ला प्रशासन कार्यालय मकवानपुरले सूचना जारी गरेको हो।










