हेटौँडा /निरन्तरको वर्षासँगै आएको बाढी, पहिरो तथा सम्भावित जोखिमका कारण देशका विभिन्न जिल्लाका प्रमुख राजमार्गहरू अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।
प्राप्त विवरणअनुसार कोशी प्रदेशको भोजपुरस्थित मध्य पहाडी लोकमार्गमा बाढीका कारण एकतर्फी सञ्चालन भइरहेको छ भने इलामको मेची राजमार्ग अन्तर्गत राजदुवाली–ताल्चाजुङ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध रहेको छ। वैकल्पिक मार्गबाट सवारी सञ्चालन भइरहेको जनाइएको छ।
बागमती प्रदेशमा काठमाडौं–नेपालथोक–कटुन्जे–जहरसिंहपौवा सडकखण्डमा सम्भावित बाढीको जोखिमका कारण सवारी सञ्चालन रोकिएको छ। यस्तै मकवानपुरको भीमफेदी गाउँपालिका–८ भैंसे–डाँडा क्षेत्रमा कान्तिलोकपथ पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित अरनिको राजमार्ग पनि पहिरोका कारण बन्द रहेको छ।
गण्डकी प्रदेशको कास्कीस्थित पोखरा–बागलुङ सडकखण्डअन्तर्गत मादी गाउँपालिका क्षेत्रमा पहिरो खस्दा राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
त्यसैगरी लुम्बिनी प्रदेशका रोल्पा, अर्घाखाँची र गुल्मीका विभिन्न सडकखण्डहरू पहिरोका कारण पूर्ण रूपमा बन्द रहेका छन्। पाल्पाको सिद्धार्थ राजमार्गमा भने एकतर्फी सवारी सञ्चालन भइरहेको छ।
सम्बन्धित निकायले अत्यावश्यक बाहेक यात्रा नगर्न, यात्रा गर्नै परे सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा सुरक्षा निकायको निर्देशन पालना गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।














