काठमाडौं/सरकारले सुकुम्बासीमाथि दमन गरेको भन्दै काठमाडौंमा प्रदर्शन गरिएको छ । होल्डिङ सेन्टरमा पीडा सहन नसकेपछि विरोधमा उत्रिएका सुकुम्बासीहरुमाथि सरकारले बर्बर दमन गर्दै नियन्त्रणमा लिएपछि त्यसको विरोधमा आइतबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको हो ।

 सरकारले गरिब सुकुम्बासीहरुमाथि समेत बर्बर दमन गरेपछि त्यसको विरोधमा प्रदर्शनमा उत्रिन बाध्य हुनुपरेको संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालका कार्यबाहक अध्यक्ष नारायण परिश्रमीले बताए । उनले सरकारविरुद्ध आफूहरुले देशव्यापी आन्दोलन चर्काउने चेतावनीसमेत दिए । त्यस क्रममा प्रर्दशनकारीहरुले सरकारको दमन र गैरन्यायिक पक्राउविरुद्ध चर्का नाराबाजी लगएका थिए । सुकुम्बासीमाथिको अन्यायको अन्त्य गर, जनताको आवाज दवाउन पाइँदैन, गरिबमाथिको अन्याय बन्द गर, सुकुम्बासी यहाँ छ, रवि–बालेन कहाँ छ, गरिबमारा सरकार–मुर्दावाद लेखिएको प्लेकार्ड पनि प्रदर्शनकारीहरुले प्रर्दशन गरेका थिए ।