काठमाडौं÷काठमाडौंको बुद्धनगरमा शनिबार विहान आत्मदाह प्रयास गरेका ४५ वर्षीय आश्विन राउतको उपचारका क्रममा निधन भएको छ । आफ्नै घरको भान्साकोठामा आत्मदाह प्रयास गरेका राउतलाई प्रहरीले तत्काल उद्धार गरी वीर अस्पताल पु¥याएको थियो ।
सघन उपचारकक्ष (आईसीयु) मा उपचाररत् उनको निधन भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए । प्रहरीका अनुसार राउतको शरीर ५० प्रतिशत्भन्दा बढी जलेको थियो । उनी पत्नी र छोरासहित बुद्धनगरमा बस्दै आएका थिए । आत्मदाह प्रयासको कारण भने हालसम्म खुल्न सकेको छैन । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।
मण्डलद्वारा आत्मदाह प्रयास
सर्लाहीको गोडैता नगरपालिका–१०, सिसौटियाका ३५ वर्षीय विवेक मण्डलले शुक्रबार आत्मदाहको प्रयास गरेका छन् । हाल उनको काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयुमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार शुक्रबार दिउँसो करिब पौने ४ बजे मण्डलले आफ्नै शरीरमा आगो लगाएका थिए । प्रारम्भिक उपचारका लागि उनलाई प्रादेशिक अस्पताल मलंगवामा लगिएको थियो । अवस्था गम्भीर भएपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत् शुक्रबार साँझ थप उपचारका लागि काठमाडौं ल्याइएको हो । सर्लाहीका डीएसपी वेदप्रसाद गौतमका अनुसार उनको शरीरको अधिकांश भाग जलेको छ र अवस्था गम्भीर छ ।
परिवारका सदस्यका अनुसार एमएस्सी गरेका मण्डल केही समयदेखि मानसिक स्वास्थ्यसम्बन्धि समस्याबाट गुज्रिरहेका थिए । स्थानीयका अनुसार उनी करिब एक वर्षदेखि बेरोजगार थिए र आर्थिक कठिनाइका कारण तनावमा रहेको बताइएको छ । एमएस्सी अध्ययन पूरा गरेपछि मण्डलले केही समय मलंगवाको एक कलेजमा अध्यापन गरेका थिए । करिब एक वर्षअघि जागिर छुटेपछि उनी बेरोजगार बनेका थिए । गोडैता नगरपालिका–१० का वडा अध्यक्ष वैद्यनाथ मण्डलका अनुसार आर्थिक कठिनाइपछि उनको मानसिक स्वास्थ्यमा समस्या देखिन थालेको थियो ।












