हेटौंडा/बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका बहुआयामिक समस्यालाई समाधान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ केन्द्रीय अध्यक्ष सरोज सिटौलासँगको भेटमा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष सिटौलाले बागमती प्रदेशमा विशेषगरि काठमाडौं उपत्यकामा सार्वजनिक यातायातको ट्राफिक समस्या, दुर्घटनामा मृत्यु हुनेको क्षतिपूर्ति समस्या र उपचार समस्या सम्बन्धमा सहजीकरण गरिदिन आग्रह गरेका थिए । उनले हाल उपचारका क्रममा घाइतेहरुलाई महंगा प्राइभेट अस्पतालमा उपचार गर्नुपर्ने र विमाबाट ३ लाखमात्र क्षतिपूर्ति पाउने हुँदा व्यवसायीलाई समस्या परेको बताए ।

मुख्यमन्त्री बानियाँले प्रदेश सरकार ट्राफिक समस्या समाधान गर्न मृतकलाई क्षतिपूर्तिको उचित व्यवस्थापन गर्न र घाइते उपचारको सन्दर्भमा व्यवसायीसँग मिलेर यस बहुआयामिक समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताए । भेटका क्रममा मुख्यमन्त्री बानियाँले बागमती प्रदेश केन्द्रीय राजधानीसमेत रहेको प्रदेश भएको र यस प्रदेशभित्र मुलुकको ६० प्रतिशत् भन्दा बढी सवारी भार भएको हुँदा यहाँ सार्वजनिक यातायातको सबैखाले समस्या समाधान गर्न चुनौतीपूर्ण रहे पनि आफू यातायातका समस्या समाधान गर्न लागिपर्ने बताए ।