हेटौंडा /नेपाल औषधि व्यवसायी संघ मकवानपुरले जिल्लाका औषधि व्यवसायीहरूसँग व्यवसाय सञ्चालनका समसामयिक विषयमा एकदिने अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । शनिबार आयोजित कार्यक्रममा पछिल्लो समय जिल्ला प्रशासन कार्यालय मकवानपुरबाट औषधि पसल सञ्चालन तथा बन्द गराउने विषयमा भइरहेका गतिविधिबारे विशेष छलफल भएको थियो ।

सहभागी व्यवसायीहरूले कानुनी प्रक्रिया, नियमन र व्यवसाय सञ्चालनका क्रममा भोग्नुपरेका समस्या तथा चुनौतीबारे आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा संघका निवर्तमान अध्यक्ष नारायणलाल श्रेष्ठले विभिन्न कारण देखाएर औषधि पसल बन्द गराउने अवस्था सिर्जना भइरहेको भन्दै त्यसप्रति चिन्ता व्यक्त गरे । मकवानपुरमा करिब एक सय ३० औषधि व्यवसायी रहेको उल्लेख गर्दै उनले सबै व्यवसायीलाई प्रचलित कानुन र मापदण्डको पूर्ण पालना गर्दै व्यवसाय सञ्चालन गर्न आग्रह गरे ।

कार्यक्रमकै अवसरमा नेपाल औषधि व्यवसायी संघ मकवानपुरका अध्यक्ष विष्णु थापाले सञ्चारिका समूह मकवानपुरलाई एक सय थान सेनेटरी प्याड हस्तान्तरण गरेका थिए ।

अन्तरक्रियामा नेपाल औषधि व्यवसायी संघ बागमती प्रदेशका सचिव बिनोद लामिछानेसहित जिल्लाका औषधि व्यवसायीहरूको सहभागिता रहेको थियो । सहभागीहरूले औषधि व्यवसायलाई व्यवस्थित, मर्यादित र कानुनसम्मत बनाउन सबै पक्षबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।