काठमाडौं/नेकपा (एमाले) ले राष्ट्रिय मानवअधिकार आयोगको एक सिफारिस संविधान, प्रचलित कानुन तथा अन्तर्राष्ट्रिय मानवअधिकारका मान्यतासँग मेल नखाने भन्दै सच्याउन माग गरेको छ ।

एमाले केन्द्रीय सदस्य महेश बर्तौलाले बिहीबार राष्ट्रिय मानवअधिकार आयोग अध्यक्ष तपबहादुर मगरलाई आयोगको हरिहरभवन, पुल्चोकस्थित कार्यालयमा भेटेर पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्माओलीका तर्फबाट औपचारिक निवेदन दर्ता गराएका हुन् । बर्तौलाका अनुसार आयोगले २०८२ भदौ २३ र २४ गतेको घटनासम्बन्धि गरेको निर्णय नम्बर–१७७ पूर्वाग्रहपूर्ण, असंवैधानिक तथा कानुनी आधारविपरीत रहेको दाबी गर्दै उक्त सिफारिस सच्याउन माग गरिएको छ ।

निवेदनमार्फत् यसअघि माग गरिएका कागजात तथा प्रतिवेदनको प्रतिलिपि आयोगले पूर्णरुपमा उपलब्ध नगराएको भन्दै थप कागजात उपलब्ध गराउन पनि आग्रह गरिएको छ । विशेषगरि लिली थापाको नेतृत्वमा गठित छानबिन समितिले आयोगलाई बुझाएको भनिएको प्रतिवेदनको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन माग गरिएको बर्तौलाले जानकारी दिए । उक्त प्रतिवेदनका कुनकुन अंश आयोगले स्वीकार गरेको, कुन अंश हटाएको वा थप गरेको तथा त्यसका आधार र कारणसम्बन्धि सम्पूर्ण कागजातको प्रमाणित प्रतिलिपि उपलब्ध गराउन पनि निवेदनमा माग गरिएको छ ।

आयोगले उक्त विषयमा थप छानबिन, अनुसन्धान वा अध्ययन गरेको भए त्यससँग सम्बन्धित प्रतिवेदन तथा अन्य सम्बन्धित कागजातहरुको प्रमाणित प्रतिलिपि पनि उपलब्ध गराउन आग्रह गरिएको बर्तौलाले बताएका छन् । एमालेले आयोगसमक्ष दर्ता गरेको निवेदनको विवरण सञ्चारमाध्यममार्फत् सार्वजनिक गर्दै आफूहरुले आयोगको निर्णयमाथि आवश्यक पुनरावलोकन र पारदर्शिताको अपेक्षा गरेको जनाएको छ ।