हेटौँडा/ मकवानपुरको हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङस्थित भित्री सडकमा स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार बेलुका करिब ४:३० बजे बुद्धचोकबाट नमुनाचोकतर्फ जाँदै गरेको बा.प्र. ०३–००४ प ७२७२ नम्बरको स्कुटर तीव्र गतिका कारण अनियन्त्रित भई स्थानीय राजु नेपालीको घरको पिँढीमा ठोक्किएको थियो।
दुर्घटनामा स्कुटर चालक हेटौँडा–१० आनन्दटोल निवासी २१ वर्षीय सागर स्याङ्तान गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल लगिएकोमा साँझ ५:०५ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न स्कुटर प्रहरीले नियन्त्रणमा लिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।












