हेटौंडा/हेटौंडा उपमहानगरपालिका–८ नम्बर वडा कार्यालयले कमाने फुटबल एकेडेमीलाई करिब ४ लाख बराबरको खेलकुद सामग्री हस्तान्तरण गरेको छ । स्थानीयस्तरमा खेल प्रतिभा उत्पादन गर्ने उद्धेश्यले बुधबार आयोजित एक कार्यक्रममा वडा अध्यक्ष राम थापाले एकेडेमीलाई प्रशिक्षणका लागि आवश्यक विभिन्न फुटबल अभ्यास सामग्री हस्तान्तरण गरेका हुन् ।

वडा अध्यक्ष थापाले युवा, खेलकुद तथा सामाजिक विकासप्रति वडा कार्यालय सधैं प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने बताए । कमाने फुटबल एकेडेमीका अध्यक्ष रमेश थापाका अनुसार एकेडेमीले विगत करिब तीन वर्षदेखि साना बालिकाहरुलाई नियमितरुपमा फुटबल प्रशिक्षण दिँदै आएको छ । वडा कार्यालयबाट प्राप्त खेल सामग्रीले प्रशिक्षणलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे ।