हेटौंडा/हेटौंडा खानेपानी व्यवस्थापन बोर्डले लामो समयदेखि खानेपानी महसुल बक्यौता राख्ने उपभोक्तालाई तत्काल रकम भुक्तानी गर्न आग्रह गरेको छ । सार्वजनिक सूचना जारी गर्दै बोर्डले पटकपटक ताकेता गर्दा पनि महसुल नतिरे प्रचलित नियमअनुसार पूर्वसूचना दिएर खानेपानीको धारा बन्द गरिने चेतावनी दिएको हो ।

बोर्डका अनुसार बक्यौता असुलीका लागि सम्बन्धित उपभोक्तालाई पत्राचार गरिसकिएको छ । सरकारी कार्यालयहरुलाई पनि चालु आर्थिक वर्षको बजेट तथा खाता बन्द हुनुअघि बाँकी महसुुल फछ्र्यौट गर्न अनुरोध गरिएको छ । बोर्डले समयमै महसुल तिर्ने उपभोक्तालाई विभिन्न छुट तथा सुबिधा उपलब्ध गराउँदै आएको जनाएको छ ।

पर्याप्त र शुद्ध खानेपानी कहिलेसम्म ?

संघीय संसद्अन्तर्गत् पूर्वाधार विकास समितिले देशभरका नागरिकलाई स्वच्छ र गुणस्तरीय खानेपानीको सहज आपूर्ति सुनिश्चित गर्न सरकारलाई कडा निर्देशन दिएको छ । बुधबार बसेको समितिको बैठकले सम्बन्धित मन्त्रालय तथा निकायलाई आगामी १५ दिनभित्र स्पष्ट कार्ययोजना र समयसीमासहितको विवरण पेस गर्न निर्देशन दिएको हो ।

बैठकमा समितिका सभापति आशीष गजुरेलले ७७ वटा जिल्लाका करिब ३ करोड नागरिकलाई पर्याप्त र शुद्ध खानेपानी कहिलेसम्म उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा सरकारसँग ठोस जवाफ माग गरेका छन् । काठमाडौं उपत्यकासहित देशभर खानेपानीको समस्या दिनप्रतिदिन गम्भीर बन्दै गएको उल्लेख गर्दै सभापति गजुरेलले स्वच्छ खानेपानीको व्यवस्थापन गर्नु राज्यको प्राथमिक दायित्व भएको बताए ।

आमनागरिकले शुद्ध खानेपानी कहिलेसम्म पाउने भन्ने विषयमा स्पष्ट उत्तर प्राप्त हुन नसकेकाले कार्ययोजना र टाइमलाइनसहित विवरण माग गरिएको उनले जानकारी दिए । प्राप्त कार्ययोजनाका आधारमा समितिले नियमन र अनुगमनलाई थप प्रभावकारी बनाउने र सम्बन्धित आयोजनाका प्रमुखहरुसँग समन्वय गरेर छिट्टै स्थलगत् अनुगमनसमेत गर्ने तयारी समितिले गरेको छ । यसका लागि सरोकारवाला निकायसँग प्राथमिकता र योजनाबारे जानकारी माग्दै पत्राचार गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकमा सडकसुरक्षा विधेयक र विपद्का समयमा यातायात प्रणाली सञ्चालन गर्ने विषयमा पनि छलफल भएको थियो, जसमा मन्त्रालयबाट भइरहेका कामहरुको समितिले निरन्तर अनुगमन तथा फलोअप गर्ने जनाएको छ ।