हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–७ रमनटारस्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार राति यात्रुवाहक बस दुर्घटना हुँदा चालकसहित पाँच जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार २०८३ असार २३ गते राति करिब ११:०५ बजे वीरगञ्जबाट लमजुङतर्फ जाँदै गरेको बसको स्टेरिङको टाइरड (टाई रड) भाँचिएपछि बस अनियन्त्रित भई सडकको दाहिने किनारमा पल्टिएको हो।

दुर्घटनापछि इलाका प्रहरी कार्यालय मनहरीबाट ट्राफिक प्रहरीसहितको टोली घटनास्थल पुगेको थियो।

बसमा सवार १६ यात्रुमध्ये घाइते भएका पाँच जनाको उद्धार गरी मनहरी अस्पतालमा उपचारका लागि पठाइएको थियो। सामान्य उपचारपछि उनीहरूलाई थप उपचारका लागि चितवनस्थित सीएमसी अस्पताल रिफर गरिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा बस चालक सर्लाहीका ३९ वर्षीय भिमबहादुर विकको टाउकोमा गम्भीर चोट लागेको छ।

त्यसैगरी चितवन भरतपुर महानगरपालिका–४ निवासी ३० वर्षीय संजय तामाङको दाहिने हातमा, पर्साको परवानीपुर नगरपालिका–२३ निवासी ५४ वर्षीय मोहम्मद आजादको निधार र बाँया खुट्टामा, बाराको देवताल गाउँपालिका–१ निवासी २३ वर्षीय राजकुमार रामको दाहिने हातमा तथा भारतको मोतिहारी जिल्ला निवासी २५ वर्षीय सुदिर कुमारको बाँया हातमा चोट लागेको प्रहरीले जनाएको छ।