काठमाडौं/चालु आर्थिक वर्षको नौं महिनामा बागमती प्रदेशमा घरजग्गाको कारोबार ३३.०१ प्रतिशत् बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकद्वारा सोमबार जारी घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति प्रतिवेदनमा बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबारमा वृद्धि भएको जनाएको छ ।
राष्ट्र बैंकका अनुसार सोही अवधिमा मधेस प्रदेशमा भने ४.७९ प्रतिशत् घरजग्गा कारोबार घटेको छ । प्रतिवेदनअनुसार आव २०८१/०८२ को नौं महिनाको तुलनामा चालु आवको ११ महिनामा घरजग्गाको कुल कारोबारको संख्या अघिल्लो आवको सोही अवधिको तुलनामा ६.४२ प्रतिशत् बढेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो कारोबार संख्या ४.५२ प्रतिशत् घटेको थियो । प्रतिवेदनअनुसार समीक्षा अवधिमा घरजग्गा कारोबारमध्ये लिखत पारितअन्तर्गत् कारोबार संख्या ०.६२ प्रतिशत् बढेको छ । अघिल्लो आवको पहिलो त्रैमासमा यस्तो कारोबार संख्या ६.७१ प्रतिशत् घटेको थियो ।
राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा लिखत पारितअन्तर्गत् राजीनामा कारोबारको संख्या १२.१७ प्रतिशत् बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमासमा यस्तो कारोबार संख्या ३.२६ प्रतिशत् घटेको छ । प्रतिवेदनअनुसार चालु आवको नौं महिनामा एक खर्ब ८३ अर्ब ९० करोडबराबर घरजग्गाको कारोबार भएको छ । जबकि, अघिल्लो आवको सोही अवधिमा भने एक खर्ब सात करोड मूल्यबराबर घरजग्गाको कारोबार भएको थियो । चालु आवको नौं महिनामा घरजग्गा कारोबारबाट संकलन भएको राजस्व २३.७२ प्रतिशत् बढेको छ । अघिल्लो आवको तेस्रो त्रैमासमा यस्तो राजस्व १३.४७ प्रतिशत् बढेको थियो ।












