काठमाडौं/आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीति सार्वजनिक भएको छ । मंगलबार नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्व पौडेलले मौद्रिक नीति सार्वजनिक गरेका हुन् । सार्वजनिक मौद्रिक नीतिले निजीक्षेत्रमा प्रवाह हुने कर्जा ११ प्रतिशत् बढाउने लक्ष्य लिएको छ ।

मुद्रास्फीति दर ५.५ प्रतिशत्भित्र राख्ने लक्ष्य छ । कर्जाको सुरक्षणस्वरुप व्यक्तिगत् जमानीबाट असीमित दायित्व सिर्जना हुने अवस्था हटाउन, चेकअनादरका कारण कालोसूचीमा परी बैंकिङ सेवाको पहुँचमा बाधा पर्ने अवस्था कम गर्न विशेष नीतिगत् व्यवस्था गरिने मौद्रिक नीतिमा उल्लेख छ ।

रुग्ण उद्योगमा रहेका निष्क्रिय कर्जाको व्यवस्थापन गर्न, दबाबमा रहेका कर्जाको पुनरुत्थान गर्न, संस्थाको सबलताका आधारमा सेयर धितो कर्जासीमा निर्धारण हुने एवम् सार्वजनिक सवारीका रुपमा प्रयोग हुने ठूला विद्युतीय सवारीसाधनको कर्जा–मूल्य अनुपात सहजीकरण हुने गरी विशेष नीतिगत् व्यवस्था गरिने उल्लेख छ । ब्याजदर कोरिडोरअन्तर्गत् नीतिगत् दर, स्थायी निक्षेप सुबिधा दर र बैंक दरलाई यथावत् राखिएको छ ।

नीतिगत् दर ४.५० प्रतिशत्, स्थायी निक्षेप सुबिधा दर २.७५ प्रतिशत्, स्थायी तरलता सुबिधा दर ६ प्रतिशत् छ । अनिवार्य नगद अनुपात, वैधानिक तरलता अनुपात र स्थायी तरलता सुबिधासम्बन्धि व्यवस्थाहरुलाई पनि निरन्तरता दिइएको छ । हाल अनिवार्य नगद अनुपात ४ प्रतिशत्, वैधानिक तरलता अनुपात वाणिज्य बैंकको १२ प्रतिशत् र विकास बैंकको १० प्रतिशत् छ ।