हेटौंडा/सडक बालबालिका व्यवस्थापनमा सक्रिय मामाघर नेपाल मकवानपुरलाई नेपाल टेलिकम उपक्षेत्रीय कार्यालय हेटौंडाले संस्थागत् सामाजिक उत्तरदायित्वअन्तर्गत् १ लाख बराबरको खाद्यान्न र लत्ताकपडा सहयोगस्वरुप उपलब्ध गराएको छ ।
कार्यालयका निर्देशक दीपककुमारको नेतृत्वमा दिलीपकुमार वर्मा, रमेशप्रसाद खतिवडा, रोशन शर्मा, बासुप्रसाद ढुंगेल, श्रीराम खतिवडा, दिनेश अर्याल, कुमार अर्याल, सानुबाबु खनाल र विक्रम मुखियालगायत कर्मचारी मामाघर नेपालमा पुगेर सहयोग हस्तान्तरण गरे । कार्यक्रममा निर्देशक दीपककुमारले मामाघर नेपालको कार्यबारे आफू हेटौंडा आउनुअघिदेखि नै जानकार रहेको र संस्थाले अत्यन्त ठूलो मानवकल्याणको कार्य गरिरहेकोमा खुशी व्यक्त गर्दै भविष्यमासमेत व्यक्तिगत्रुपमा आफू र संस्थागत्रुपमा नेपाल टेलिकमले सहयोग जारी राख्ने प्रतिवद्धता व्यक्त गरे ।
२०६८ कार्तिक २७ गतेदेखि सञ्चालित मामाघर नेपाल मकवानपुरमा विभिन्न व्यक्तिहरुले जन्मोत्सव, वैवाहिक उत्सव, पितृश्राद्ध, संघसंस्थाहरुले वार्षिक उत्सव आदिमा सहयोग गरिरहेको सामाजिक संस्था हो । मामाघर नेपाल मकवानपुरले सडक बालबालिकाको उद्धार, परामर्श , आवासीय सुविधा, जीवनोपयोगी सीप र पारिवारिक पुनर्मिलनको कार्य गर्दै आएको छ ।












