हेटौंडा/हेटौंडा–४ स्थित लोकतान्त्रिक चौर (हुप्र) नगर विकास क्षेत्रभित्रको खुला चौर हो । उक्त चौर बागमती प्रदेशको राजधानीको केन्द्र भाग हेटौंडा–४ मा अवस्थित छ । हाल हजारौं व्यक्तिको चौरमा विगत वर्षदेखि नै खेलकुदको केन्द्रको रुपमा छ ।

चौरमा विगतमा विभिन्न राष्ट्रिय÷अन्तर्राष्ट्रिय खेलहरु हुने गरेका छन् । विशेषगरि मेयर हरिबहादुर महत हुँदा उनको नेतृत्वमा चौरलाई पर्खाल लगाइ संरक्षित गर्ने कार्य भएको थियो । त्यसअघि गाई, भैंसी चर्ने र गाईभैसीको गोबरले चौर फोहोर हुने र सवारीसाधन सिक्नका लागि अत्यधिक प्रयोग गरिन्थ्यो । तर, चौरमा पर्खाल लगाइएपछि चौर सुरक्षित भयो ।

विशेषगरि २०७४ को स्थानीय निर्वाचनपछि चौर व्यवस्थापनमा ध्यान दिइएको छ । हिँड्नका लागि ट्रयाक निर्माण, सुबिधासम्पन्न शौचालय निर्माण, खुला जिम व्यवस्था, भलिबल कोर्टको सुधार, हरियाली प्रवद्र्वन आदि कार्यले चौरको नियमित सरसफाइ र मर्मत भइरहेको वडा अध्यक्ष नवीन सिग्देलले बताए ।

हालै ज्येष्ठ नागरिककक्ष निर्माणले चौरको उपयोगिता बढाएको छ । लोकतान्त्रिक चौर (हुप्र) लाई थप सुन्दर, आकर्षक र सुबिधायुक्त, उपयोगी र सुरक्षित बनाउन खुला व्यायामशालाको स्तरीकरण, गुणस्तरीय खानेपानी व्यवस्थापन, फूलको क्यारी निर्माण, आकाशे पानीको व्यवस्थापन, आराम स्थलहरुको निर्माणका लागि ८१ लाख बराबर बोलपत्र आह्वान गरिएको वडा अध्यक्ष सिग्देलले जानकारी दिए । उक्त कार्य महिला मैत्री सहरः समावेशी र जलवायु उत्थानशील शहरीकरण परियोजनाअन्तर्गत् कार्य अघि बढाउन थालिएको हो ।